काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छिन् ।
आज बसेको एमाले सचिवालय बैठकले तिम्सेनासहित स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेको छ । भने पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्काशन गरेको छ ।
पार्टीको कारबाहीमा परेकी तिम्सेनाले सामाजिक सञ्जालमा लेख्दै पार्टी नेतृत्वले पञ्चायती शैली लागु गरेको बताएकी हुन् ।
आज उनी गृहजिल्ला नुवाकोटको क्षेत्र नं १ स्थित शिवपुरी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा सहभागी भएकी उनले तल्लो तहका कार्यकर्ताहरुको माया लाग्ने समेत बताइन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ ।
यता ६ महिना निलम्बनको निर्णय भएछ । पंचायत बिरुद्द लडेर आउनु भएको नेतृतवगणले पंचकै नक्कल नगर्नु भएको भए हुन्थ्यो,’ उनले भनेकी छन् ।
एमालेले गत दशैँको अष्टमीको दिन भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएको थियो । उक्त जग्गा दानको विषयमा विरोध गर्ने तीन जना नेतामाथि एमालेले स्पष्टीकरण सोधेको थियो । रावलले स्पष्टीकरण नै दिएनन् भने पाण्डे र तिम्सेनाले स्पष्टीकरण दिए पनि पार्टीले चित्त नबुझाएर कारबाहीको डण्डा चलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया