नेपालमा कफी कल्चर यसरी फस्टाएको छ कि हरेक दुई मिनेटको अन्तरमा कफी सप भेटिन्छन् । साना खाजा घरदेखि रेस्टुरेन्ट, तारे होटेलसम्म पनि कफीकै माग छ । आजभोलि त घरघरमा कफी पिउने कल्चर पनि बढेको छ । तर, हामीले हरेक दिन पिउने कफी कति गुणस्तरीय हुन् भन्ने हेक्का कमैलाई मात्रै हुन्छ । कतिले कफी स्वादका लागि पिउँछन् त कतिले स्वास्थ्यका लागि ।
बजारमा पाइने कफी दुई प्रकारका हुन्छन् एक अरेबिका र अर्को रोबस्टा । नेपाललगायत उच्च पहाडी भेगमा उत्पादन हुने कफी अरेबिका जातका कफी हुन् जुन उच्च गुणस्तरको कफीमा गनिन्छन् । यहाँ कफीबारे चर्चा गर्नुको कारण हो नेपालमा फैलिएको कफी कल्चर र स्पेसियल्टी कफीको पायोनियर ‘धौलागिरि स्पेसियल्टी कफी ।’
‘धौलागिरि स्पेसियल्टी कफी’ नेपालको प्रिमियम अरेबिका कफी ब्रान्ड हो । नेपालका विभिन्न उच्च पहाडी भेगमा उत्पादन भएका कफीहरू नै धौलागिरि कफीका विशेषता हुन् । नेपालमा उत्पादन हुने कफी लगभग सबैजसो अरेबिका नै भए पनि यसको प्रोसेसिङले गुणस्तर मापन गर्ने धौलागिरि कफीका सञ्चालक हिमाल सुवेदी बताउँछन् । र, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने पनि अरेबिका कफी हो ।
चाइनाका नाथन हरेक दिन धौलागिरि स्पेसियल्टी कफीको चुस्की लिन पुग्छन् । उनका लागि नेपाल बसाइका क्रममा धौलागिरि कफी सप कफीका लागि सबैभन्दा उत्तम विकल्प हो । त्यतिमात्रै होइन नेपाल घुम्न आएका पर्यटकहरू पनि खोजी खोजी स्पेसियल्टी कफीको चुस्की लिन धौलागिरि कफी सप पुग्ने गरेका छन् ।
यसकारण फरक छ धौलागिरि कफी
धौलागिरिको काख बागलुङमा जन्मे हुर्केका हिमाल सुवेदीका लागि प्यारो शब्द हो धौलागिरि । हरेक दिन धौलागिरिको दर्शन गरेर सुरु हुने उनको दिनचर्याले उनलाई धौलागिरि हिमाल जसरी उँचाइ नाप्ने चाहना पलाउनु स्वाभाविकै थियो । जब काठमाडौंमा अध्ययनका क्रममा कफीलाई नजिकबाट चिन्ने मौका पाए तबदेखि हिमालमा कफी मोह बढ्दै गएको उनी बताउँछन् ।
कफीको मार्केट दुई प्रकारका छन् एउटा कमर्सियल र अर्को स्पेसियल्टी । विश्वमा ७० प्रतिशत अरेबिका र ३० प्रतिशत रोगुस्ताको उत्पादन हुने गरेको छ । नेपाल यस्तो भूमि हो जहाँ फल्ने कफी अरेबिका जातका हुन् जसको माग विश्व बजारमा उच्च छ ।
नेपालका पहाडी भेग अझ आफ्नै गाउँघरमा कफी फलेका तर यतिकै फालिएको देखेका उनलाई यसको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने लागिसकेको थियो । काठमाडौंमा कफीसँग नजिक भइसकेका हिमाल धौलागिरिको हावाले छोएको भूमिमा फल्ने कफीलाई ब्रान्डिङ गर्नुपर्छ भनेर कस्सिए र स्थापना गरे ‘धौलागिरि स्पेसियल्टी कफी’ । दुई जना साथीको साथ पाएका उनी किसानले फालेका र यतिकै छाडिएका कफी संकलनमा जुटे । सिधै किसानका बारीबाट संकलन गर्ने भएपछि उक्त कफी प्रशोधनका लागि उनले कफी प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याए । धौलागिरिले नेपालभरबाट कफी संकलन गर्छ र प्रशोधन गरेर बिक्री वितरण पनि गर्छ ।
नेपालमा सञ्चालित कफी सपहरुले स्पेसियल्टीलाई भन्दा बढी कमर्सियललाई आफ्नो मेनुमा समेटेको पाइन्छ । यही ल्याकिङलाई महसुस गरिरहेका थिए हिमालले । हिमालयन जाभामा कफी सिक्दै गर्दा नेपालमा मौलाउँदै गएको कफी कल्चर र उनको मनमा मौलाउँदै गएको स्पेसियल्टी कफी ब्रान्डिङले अन्ततः उँचाइ नाप्ने काम ग-यो र सुरु भयो ‘धौलागिरि कफी’ ।
हिमालको टिमले विगत ८ वर्षदेखि युरोपका गुणस्तरीय कफी मेशिन उपकरण, रोस्टिङ मेशिन आपूर्ति तथा बिक्री वितरण त्यसैगरी नेपालमा उत्पादित रोस्टिङ प्रिमियम कफी बीन र कच्चा पदार्थको बिक्री वितरण गर्दै आएको छ ।
विदेशी कफीले बजार लिइरहेको अवस्थामा प्रत्यक्ष किसानसँग जोडिएर स्वदेशी कफीको प्रवद्र्धनमा जुटेका यी युवाको कदम सराहनीय छ । उनीहरू स्पेसियल्टी कफीलाई स्वदेशमा मात्रै होइन विश्वमै फैलाउन चाहन्छन् । तर, त्यसको लागि उत्पादन क्षमता बढाउन कफी खेतीतर्फ किसानलाई आकर्षित गर्ने नीति नै सरकारले ल्याउनु पर्ने धौलागिरि स्पेसियल्टी कफीका संस्थापक अध्यक्ष हिमाल सुवेदी बताउँछन् ।
तपाईं बसेको टेबलमा कफी मात्रै आउँदैन त्यहाँ कफीको जात, गुणस्तर, उत्पादित ठाउँ, कुन तापक्रममा उत्पादन भएको हो, कति उँचाइमा फलेको हो लगायत इन्फरमेसन पनि आउँछ…..
तपाईं पहिलो पटक धौलागिरि स्पेसियल्टी कफी सप जानु भएको छ भने तपाईं बसेको टेबलमा कफी मात्रै आउँदैन त्यहाँ कफीको जात, गुणस्तर, उत्पादित ठाउँ, कुन तापक्रममा उत्पादन भएको हो, कति उँचाइमा फलेको हो लगायत इन्फरमेसन पनि आउँछ । झट्ट हेर्दा अनौठो लाग्ने यो तरिका धौलागिरिले सुरु गरेसँगै ग्राहकको मन पनि जितिरहेको छ । ग्राहक यही कफी पिउन टाढा टाढाबाट पनि आउने गरेको हिमाल बताउँछन् ।
कफीका भेराइटी अनि अग्र्यानिक स्वाद त्यो पनि सम्पूर्ण इन्फरमेसनसहित । ग्राहकले कफी पिउँदैनन् मात्रै कफीको स्वादसँगै पहाड चढ्छन् अनि सुन्दर हरिया दृश्यावलोकन गर्दै आनन्दित हुन्छन् । हो यही फरक छ धौलागिरि स्पेसियल्टीमा । हिमाल भन्छन्, ‘धौलागिरिमा स्पेसियल्टी कफी पानसँगै कफी ट्राभल पनि गर्न पाइन्छ । यो विशेष शैली धौलागिरि स्पेसियाल्टीको विशेषता हो र यही कारण हामी अरूभन्दा विल्कुल फरक छौँ ।’
प्रिमियम मूल्यमा त्यो पनि स्पेसियल्टी कफी
सामान्यतया नेपाली बजारको धेरै जसो हिस्सा कमर्सियल कफीले ओगटेको छ । यस्तोमा कतै कतै मात्र पाइने स्पेसियल्टी कफीको माग पनि दिनानुदिन बढ्दो छ । कफीका पारखीका लागि स्पेसियल्टी कफी खास हो ।
धौलागिरिले तयार पारेको कफीको मूल्य प्रति केजी १८ सय देखि ४८ सय रुपैयाँसम्म पर्छ । कति उचाइमा फलेको कुन ठाउँमा बनेको हो त्यहीअनुसार मूल्य निर्धारण गरिएको छ । कफी प्रोसेसिङदेखि तयार पार्दासम्मको अवधिले पनि कफीको गुणस्तर निर्धारण गर्ने भएकाले यसको मूल्य पनि फरक पर्ने हिमाल बताउँछन् ।
धौलागिरि कफीको विशेषता भनेकै ह्यान्ड मेड अर्थात् हातले नै बनाउने विधि हो । बजारमा मेसिनले बनाउने विधि चल्तीमा भए पनि हातले बनाएर तयार हुने कफीको स्वाद र गुणस्तर नै फरक हुन्छ……
धौलागिरि कफीको खासियत भनेको ह्यान्ड मेड अर्थात् हातले नै बनाउने विधि हो । बजारमा मेसिनले बनाउने विधि चल्तीमा भए पनि हातले बनाएर तयार हुने कफीको स्वाद र गुणस्तर नै फरक हुने हिमाल बताउँछन् । उनका अनुसार कफी पारखीका लागि हातले बनाउने कफी पहिलो रोजाइमा पर्ने गरेको छ ।
धौलागिरिले विभिन्न चाडपर्वमा विशेष अफरसहितको मूल्य पनि सार्वजनिक गर्ने गरेको छ । अहिले ग्राहकले क्रिसमस र नयाँ वर्षको समयमा एक हजार रुपैयाँसम्मको अर्डरमा कफी ब्रिउ निःशुल्क पाउने छन् । कफी ब्रिउ ह्यान्ड मेड विशेष प्रकारको कफी हो । जुन कफीको मज्जा तीनदेखि चार जनासम्मले लिन सक्छन् । धौलागिरिमा उच्च गुणस्तरको ग्रिन टी, आइस टी कफी र कफीसँग सम्बन्धित किराना, डिस्पोजेबल उत्पादनहरू पनि उपलब्ध छन् ।
के हो स्पेसियल्टी कफी ?
सामान्य कफी भन्दा फरक र उच्च गुणस्तर मापन गरिएको कफी नै ‘स्पेसियल्टी कफी’ हो । स्पेसियल्टी कफीको फरक स्ट्यान्डर्ड हुन्छ । यसमा एक कप कफी बनाउँदा सामान्य भन्दा तीन गुणा बढी कफी खपत हुन्छ । कमर्सियल कफी कपमा सामान्यतया ७ देखि ८ ग्राम प्रयोग हुने भए पनि स्पेसियल्टी कफीमा १८ ग्राम प्रयोग हुन्छ ।
कफीको गुणस्तर मापनमा ८० प्रतिशत माथिको पोइन्टले स्पेसियल्टीको स्तरमा पुग्छ । त्योभन्दा कम पोइन्टको कफी कमर्सियल मानिन्छ…..
कफीलाई मापन गर्ने भिन्न विधि हुन्छ । गुणस्तरमा उत्कृष्ट कफी स्पेसियल्टी कफीमा गनिन्छ । कफीको गुणस्तर मापनमा ८० प्रतिशत माथिको पोइन्टले स्पेसियल्टीको स्तरमा पुग्छ । त्योभन्दा कम पोइन्टको कफी कमर्सियल मानिन्छ । यही गुणस्तरका कारण धौलागिरिले आफूलाई कफी स्पेसियल्टीको पायोनियर ठानेको हो ।
स्पेसियल्टी कफीको प्रोसेसिङ मात्रै होइन मेकिङमा पनि विशेष तरिका अपनाउनु पर्छ । बरिस्ताले कफी बनाउँदै गर्दा स्पेसियल्टीको मापदण्डभित्र बस्नु पर्ने हुन्छ । त्यसैले मेकिङको तरिकाले कफीको विशेषपनलाई झल्काउँछ । स्पेसियल्टी कफी पूर्ण रूपमा अग्र्यानिक हुने हिमालले बताए ।
कफी खेतीका लागि विश्वकै उत्कृष्ट ठाउँ हो नेपाल
कफी उत्पादनका हिसाबले भियतनाम विश्वकै प्रमुख कफी उत्पादक मुलुक हो । नेपाल पनि कफी उत्पादनका लागि उपयुक्त मुलुक हो । तर, जनशक्तिको अभाव अनि राज्यको विशेष नीति नहुँदा नेपालमा कफी खेतीले राम्रो स्थान पाउन सकिरहेको छैन ।
धौलागिरिका अध्यक्ष हिमाल भन्छन्, ‘उत्पादन र बिक्री वितरणमा सहज मानिएको कफी खेतीका लागि राज्य विशेष योजनासहित कृषकसम्म जाने हो भने नेपाल विश्वमा कफी उत्पादनका लागि प्रमुख मुलुक बन्नेमा कुनै शंका छैन ।’ नेपालको हावापानी, भौगोलिक भूबनोट कफी खेतीका लागि विश्वमै उपयुक्त मानिन्छ ।
नेपालमा उत्पादित कफीले नेपालको बजारमा मात्रै ६ महिना पनि धान्न सक्दैन । आधाभन्दा बढी कफी विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । स्वदेशको मागलाई मात्र धान्नसक्ने गरी किसानलाई कफी खेतीमा आकर्षित गर्न सक्ने हो भने अर्बौँ स्वदेशी रकम बाहिरिनबाट जोगिने हिमाल बताउँछन् ।
कफी खेतीबारे नबुझेर पनि धेरै किसानले यसलाई अपनाएको पाइँदैन । कतिले बजारसम्म कसरी पुग्ने थाहा नभएर खेती नै गर्दैनन् भने कतिले उत्पादित कफीको उचित मूल्य नपाउँदा यतिकै खेर फालिरहेका छन् । हिमालका अनुसार बजारसम्म पुर्याउन मात्रै सहज हुने हो भने पनि किसानलाई यस क्षेत्रमा टिकिरहन बल पुग्ने थियो । मिहिनेत गरेर उत्पादन गरेको सामग्रीले बजारसम्म पुग्ने बाटो नपाउँदा र उचित मूल्य नपाउँदा आज किसानमा निराशा त छ नै यो क्षेत्रबाटै हात झिक्ने सम्भावना पनि उत्तिकै छ ।
चुनौतीका बाबजुद धौलागिरि स्पेसियल्टी कफीले सिधै किसानको आँगनमा पुगेर कफी संकलन गर्दै आएको छ । हिमाल भन्छन्, ‘राज्यले साथ दियोस् कि नदियोस् हामी कफीको बजारलाई फैलाउन हरसम्भव प्रयास गरिनै रहनेछौँ ।
‘समिट धौलागिरि ट्रेडिङ’ले बसाएको जग
सन् २०१७ मा स्थापना भएको ‘समिट धौलागिरि ट्रेडिङ’को जगमा सुरु भएको हो ‘धौलागिरि स्पेसियल्टी कफी’ । समिट धौलागिरि ट्रेडिङले युरोपका गुणस्तरीय कफी मेशिन उपकरण, रोस्टिङ मेशिन, रोस्टिङ प्रिमियम कफी बीन र कच्चा पदार्थ आपूर्ति तथा बिक्री वितरण गर्दै आएको छ । समिट धौलागिरि ट्रेडिङले होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे चेन र कमर्सियल अफिसमा समेत व्यावसायिक कफी मेशिन, रोस्टिङ प्रिमियम कफी बीन र कच्चा पदार्थ आपूर्ति गर्दै आएको छ । समिट धौलागिरिले उत्पादनको गुणस्तर र विविधतामा ध्यान दिदैं ग्राहकको आवश्यकताअनुसारका कफीलाई आफ्नो प्राथमिकतामा राखेको छ ।
नेपाली किसानले उत्पादन गरेको कफी किनेर त्यसलाई प्रशोधन गरी खानका लागि योग्य भएपछि नेपालका विभिन्न कफी सपसम्म पु-याउने काम गरेको धौलागिरिले एउटा कफी सपलाई चाहिने सम्पूर्ण सामान उपलब्ध गराउने काम पनि गर्दै आएको छ । हिमालका अनुसार धौलागिरिले कफी सपका लागि प्याकेजमै डिल गर्छ । कफी सपका लागि डिजाइनिङदेखि फर्निचरसम्मको काम पनि आफ्नो कम्पनीबाट हुने गरेको उनी बताउँछन् ।
लामो समय कफी कम्पनीहरूसँग काम गरेका हिमालले कफीसँग आफ्नो नाता यसरी जोडे की व्यावसायिक रूपमा हुने कफीको व्यापारलाई परिवर्तन गर्नुपर्छ भनेर आफै कस्सिए । नेपालको सन्दर्भमा सबै परिवर्तन गर्न सम्भव नहोला तर इँटा थप्न त सकिन्छ नि भन्ने सोचले आफ्नै कफी सप सुरु गरेको उनी बताउँछन् । कफीको गुणस्तरदेखि किसानसम्म पुग्ने कुरामा उनी आफै अग्रसर हुन्छन् । कम्पनीमा उनीसहित पार्टनरहरू दीपक कँडेल र बाबुराम छन् । कम्पनीमा अन्य आठ जना कर्मचारीले पनि रोजगारी पाएका छन् । एकातिर रोजगारीको सिर्जना हुने अर्कोतिर कफी पारखीका लागि विशेष कफी पनि पाइने ।
कोभिड महामारीका कारण केही समय बन्द अवस्थामा रहेको समिट धौलागिरि बिस्तारै बजार आफ्नो गतिमा फर्कन थालेपछि पुनः सञ्चालनमा आयो । धौलागिरिले ६ महिना अघि अर्थात्, यसै वर्षको असारबाट हो धौलागिरि स्पेसियल्टी कफी सपबाट आफ्नो सेवालाई विस्तार गरेको छ । कफी पारखीका लागि उत्तम गन्तव्य बनेको यो कफी सपले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने सञ्चालक हिमाल बताउँछन् ।
कफीको इतिहास
कफीको इतिहास नवौँ शताब्दीबाट सुरु भएको पाइन्छ । इथियोपियाका काल्दी नाम गरेका एक बाख्रा गोठालाले बाख्राहरू नाच्ने खेल्ने गरेको अनौठो दृश्य देखेपछि बाख्राले खाएको कफीका पात र दानाबारे चासो राखेका थिए । उनले त्यसको परीक्षण गर्दै आफैले घरमा लगेर खाँदा अनौठो स्फूर्ति पाए । त्यसयता कफीको दाना खाने चलन सुरु भएको भनिन्छ । १४औँ शताब्दीमा उनीहरूले कफीलाई पेय पदार्थका रूपमा प्रयोग गर्न थाले र १५औँ शताब्दीसम्म आइपुग्दा कफी हाउसहरू नै खुल्न थालेको इतिहास छ । पछि कफी युरोप हुँदै विश्वमा फैलिएको पाइन्छ ।
विशेष गरेर दक्षिण अमेरिका, भियतनाम र इन्डोनेसियामा बढी उत्पादन हुन्छ । नेपालमा विसं १९९५ सालमा गुल्मी आँपचौरका हीरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बिउ ल्याएर खेती सुरु गरेको इतिहास छ । विसं २०२० को दशकमा आएर सरकारले भारतबाट कफीको बिउ झिकाएर गुल्मी, स्याङ्जा हुँदै अन्य जिल्लाका किसानलाई खेतीमा अग्रसर गराएपछि उत्पादनले गति लिएको मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया