‘कैयौँ आशा गर्ने ठाउँ हुँदाहुँदै नेतृत्व तहबाटै निराशाको व्यापार गर्ने काम भयो’ (भिडियोसहित)

लोकपथ
35
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका समाजशास्त्री डा. दिपेश घिमिरेले राजनीतिक नेतृत्व तहबाटै निराशाको व्यापार गरेर राजनीतिक लाभ उठाउने काम भएको तर्क गरेका छन् ।

लोकपथसँगको अन्तर्वार्ताको क्रममा समाजशास्त्री डा. घिमिरेले पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालदेखि भिड नै जम्मा गरेर आक्रोश पैदा हुने प्रवृत्ति डरलाग्दो रहेको बताए ।

नेपालमा आशा गर्ने धेरै ठाउँहरु हुँदाहुँदै पनि निराश कुराहरुलाई बाहिर ल्याएर नेतृत्व तहमा रहेका नेताहरुबाटै निराशाको व्यापार गरेर त्यसबाट राजनीतिक लाभ उठाउने काम भइरहेको बताए ।

‘हामीमा निराशाको व्यापार एकदमै फस्टाइरहेको छ । चाहे त्यो सामाजिक सञ्जालमा होस् या राजनीतिका भाषणमा होस् सजिलैसँग बिक्ने निराशाको व्यापारलाई सबैले मिलेर बेचिरहेका छौँ,’ उनले भने, ‘अहिलेको अवस्थामा नेपाली समाजमा आशा गर्न सक्ने सयौँ आशा गर्ने कुराहरु पनि छन् । तर निराशाको व्यापार मात्रै गरिरहने जुन प्रवृत्ति बढिरहेको छ त्यसले हामीले अफ्ठयारो पारिरहेको छ ।’

व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसक्दा आम नागरिकहरु निराश हुनुको कारण मुल नेतृत्वमा गएर ठोकिन्छ । दशकौँ राजनीतिक लाभको पदमा बसेर पनि मुलुकलाई उचित ठाउँमा पुर्याउन असक्षम नेताहरुबाटै पुनः आशा खोजिनुले नेपाली समाजलाई थप अविकासतिर लैजान मलजल गरेको तर्क गरे ।

‘नेतृत्व तहको कुरा गर्ने हो भने ०४८ सालमा गृहमन्त्री बनेको व्यक्ति २०८८ सालमा आइपुग्दा पनि प्रधानमन्त्री बन्ने अभिलाशा देखिरहेको छ । उहाँहरुको नेतृत्व र विज्ञताले हामीलाई लोकतन्त्र दियो । हाम्रो स्वतन्त्रता उहाँहरुकै कारणले आएको हो । तर त्यसपछि देश निर्माण गर्ने चरणमा जब हामी आयौँ त्यसपछि त्यसमा उहाँहरुको ल्याकतले काम गर्न सकेन,’ उनले भने, ‘एउटा कुरामा मान्छे विज्ञ हुन्छ सबै कुरामा मान्छे विज्ञ हुँदैन नि त ! उहाँहरुलाई त्यहीँबाट बिदा गरेर नयाँ मान्छे ल्याउन सकेको भए विकासमा समेत फड्को मार्न सक्थ्यौँ ।’

त्यस्तै हरेक क्षेत्रमा दलीयकरणका कारण समाजमा प्रतिष्पर्धा कमजोर भइरहेको बताए । हरेक क्षेत्रलाई दलीयकरणबाट बाहिर निकाल्न सकेमा मात्रै योग्य व्यक्ति नेतृत्वमा पुग्ने समेत बताए ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?