पाँच अर्ब लगानीमा आईएमई समूहले कर्णाली चिसापानीमा ‘जालपादेवी केबलकार’ निर्माण गर्दै

लोकपथ
112
Shares

कैलाली । आईएमई समूहले कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण गर्ने भएको छ । पाँच अर्ब रुपैयाँ लागतमा निर्माण हुने उक्त केबलकारको परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शनिवार शिलान्यास गरेकी हुन् ।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा बन्ने उक्त केबलकार ३.१ किलोमिटर लामो हुनेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।

परराष्ट्र मन्त्री डा. देउवाले सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी रहेको बताइन् । उनले भनिन्, ‘प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटेलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’

यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा मन्त्री डा. देउवाको अपिल छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए । उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए। अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए ।

केवलकारको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेशनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?