विद्यादेवीकै अघि विश्वप्रकाशको सुझाव– ‘तपाईँ राजनीतिमा नआउनुस्, अभिभावक बनेर बस्नुस्’

लोकपथ
441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नआउन सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरु’ कविता विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले त्यस्तो सुझाव दिएका हुन् ।

उक्त कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारी प्रमुख अथितिका रुपमा रहेकी थिइन् । महामन्त्री शर्माले कविता संग्रहबारे आफ्नो धारणा राख्ने क्रममा आमाहरुको महिमाबारे चर्चा गरेका थिए । ईश्वर पोखरेलकी आमाले जीवनको अन्तिम समयमा आफ्नो आँखा दान गर्न चाहेको कुरा बताएको प्रशंग उल्लेख गर्दै महामन्त्री शर्माले आमाको महानताबारे चर्चा गरे । तर अझै पनि कतै आमाहरु घरेलु हिंसाबाट प्रताडित भइरहेको भन्दै त्यस्तो निमूर्ल गर्न पूर्व राष्ट्रपति भण्डारीले नायकी भूमिका खेल्नुपर्ने बताए ।

‘सम्माननीय राष्ट्रपति यहीँ हुनुहुन्छ । आँखा दान गर्न आमा (ईश्वर पोखरेलकी आमा) ले प्रेरित गरे जस्तै दाईजो नल्याएको कारणबाट छोरीहरुलाई जल्नबाट रोक्न, बोक्सी बनेर प्रताडित आमाहरुको नलेखिएका कथाहरु, पीडाहरुको अघि घरेलु हिंसामा परेका महिलाहरुको समस्या समाधान गर्न नायकको रुपमा उभिनुपर्छ जस्तो लाग्छ । सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले यसको कमाण्ड सम्हाल्छु भन्न सक्नुपर्छ,’ भण्डारीलाई सुझाव दिँदै उनले भने ।

त्यस्तै पछिल्लो समय भण्डारी राजनीतिमा आउने चर्चाबारे टिप्पणी गर्दै उनले सामाजिक व्यक्तित्वका साथ अघि बढ्न सुझाव दिए । राजनीतिमा आउने आफ्नो स्वतन्त्र अधिकार भए पनि पूर्व राष्ट्रपति भइसकेको व्यक्ति कुनै पार्टीको कित्तामा उभिनु भन्दा पनि सबैको साझा व्यक्तिका रुपमा उभिनुपर्नेमा जोड दिए ।

‘मेरो शुभकामना छ, राजनीतिमै फेरि आउने हो की साथीहरुले इच्छा राखेका हुन् कि भन्ने चर्चा पनि छ । यहाँको स्वतन्त्रताको म सम्मान गर्दछु । यदी मलाई कसैले तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्व राष्ट्रपतिहरुले के गर्नुपर्छ भनेर सोध्छ भने सामाजिक अभिभावक देशलाई चाहिएको छ, उहाँहरु सामाजिक व्यक्तित्व बन्नुपर्छ भन्नेछु । ताकि आमाहरुले त्यो प्रकारको पीडा आमाहरुले भोग्न नपरोस्,’ महामन्त्री शर्माले भने, ‘राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ, राजनीति भन्दा पर, राजनीति भन्दा माथि सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने सम्भावना पनि छ ।’

त्यस्तै सो कार्यक्रममा राष्ट्रपति भण्डारीसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पुस्तकका लेखक पोखरेल र प्राध्यापक विन्दु शर्माले आ– आफ्नो धारणा राखेका थिए ।

यो पनि…

विद्यादेवी–नन्दबहादुरका संयोग : सँगै देशको सर्वोच्च पद, सँगै राजनीतिमा ‘इन्ट्री’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?