काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ८० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १४ दिनका लागि ८० अर्ब रुपैयाँ तान्ने भएको हो ।
आज बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । जसको साँवा र ब्याज भुक्तानी मिति माघ ९ गते निर्धारण गरिएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने केन्द्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पुस २१ गते सम्म निक्षेप संकलन उपकरणमार्फत ३७ पटकमा १३ खर्ब ८३ अर्ब १० करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये २ खर्ब ५२ अर्ब ५ करोड रुपैयाँ फिर्ता हुन बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया