काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् । बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति जनाएका हुन् ।
उनले एमाले केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राखेको भन्दै असहमति जनाए । उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाईको गणित नपुग्ने बताए ।
संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे । सरकारमा रहेका दुई राजनीतिक दलहरुले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे ।
महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौँ भन्ने हक एमाले पार्टीको अध्यक्ष र काँग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया