‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’को सफल परिक्षण

लोकपथ
0
Shares

पर्वत। साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बनेको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’के सफल परिक्षण भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको सफल परिक्षण भएसँगै यो छिटै सञ्चालनमा आउने भएको छ ।

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

‘द क्लिफ’ले विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले जनाए ।

‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ’ उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ ।’ हाल यसको परीक्षण भइरहेको उनको भनाइ छ ।

कार्कीका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ । यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकोमा निकै खुसी हुँदै कार्कीले मेगाट्रोलले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?