स्वदेशमा मात्रै होइन विदेशमा समेत चाकुको माग उच्च

स्थानीय व्यवसायीको गुनासो- ‘टोखाको चाकुलाई विश्व बजारसम्म लैजान सरकारले चासो नै दिएन’

काठमाडौं । नेपालमण्डलको उत्तरी क्षेत्र शिवपुरी डाँडाको तल्लो फेदमा पर्ने टोखा नगरीमा वर्षभरि विभिन्न चाडपर्व मनाइँदै आएको छ । नेवार समुदायमा मनाइने परम्परागत चाडपर्वमध्येको माघे संक्रान्ति एक महत्वपूर्ण पर्व हो । माघे संक्रान्तिको प्रसंग चाकुसँग छ । नेवार समुदायमा विशेष परिकारका रूपमा घिउ चाकु खाने प्रचलन भए पनि धेरै नेपालीले सखरखण्ड, पिँडालु, तरुल, घिउ चाकु, खिचडी खाएर माघे संक्रान्ति पर्व मनाउने चलन पुरानो हो ।

सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानै पर्ने परिकारको रूपमा प्रख्यात छ । माघे संक्रान्ति आउन केही दिन बाँकी छँदै काठमाडौंको टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ हुन्छ । यतिबेला काठमाडौंको टोखाका व्यापारीहरू चाकु र तिलका लड्डु बनाउन र बिक्री गर्न व्यस्त छन् । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे संक्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ ।

यतिबेला काठमाडौंको टोखाका व्यापारीहरू चाकु र तिलका लड्डु बनाउन र बिक्री गर्न व्यस्त छन् । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे संक्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ

टोखामा खुवा चाकु, झोले चाकु, स्पेसल चाकु, कालो तिलको लड्डु, सेतो तिलका लड्डुलगायतका विभिन्न परिकार बन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । चाकु उत्पादनमा टोखा प्रसिद्ध भएका कारण मानिसहरू चाकु किन्नका लागि टोखासम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने भए पनि विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरू बताउँछन् ।

टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरूले टोखाकै चाकु खान मन पराउँछन् । टोखामा इस्वी सम्वत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किम्वदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि वि.स. २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना नै गरिएको थियो । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन् ।

उनले भने, ‘हामीले बनाउने गरेको मसला चाकु, स्पेसल चाकु, खुवा चाकु सुत्केरी चाकु, झोले चाकु, सेतो तिल कालो तिलका लड्डु नेपालका ७७ वटै जिल्लामध्ये ७५ वटा जिल्ला र विदेशमा समेत निर्यात हुन्छन् । चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएका छौँ । यस क्षेत्रबाट सांसद बनेका प्रदीप पौडेल अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ । उहाँले टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताउनु भएको छ ।’

पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु खेती गर्ने योजना अघि सारेको छ । उक्त कार्यको लागि पाँच लाख रुपयाँ विनियोजन भइसकेको टोखा चाकु समाजका अक्ष्यक्ष श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु खेती गर्ने योजना अघि सारेको छ । उक्त कार्यको लागि पाँच लाख रुपयाँ विनियोजन भइसकेको टोखा चाकु समाजका अक्ष्यक्ष श्रेष्ठ बताउँछन् ।

त्यस्तै टोखा परम्परागत चाकु संरक्षण समाजको उपाध्यक्ष बुद्ध श्रेष्ठले चाकु नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकबाट माग भइरहेको बताए । उनले चाकुको माग अत्यधिक भएपछि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको बताए । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने र विभिन्न रोगहरूबाट छुटकारा पाउने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।

माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरूले तीव्रता दिएको श्रेष्ठ बताउँछन् । यतिबेला टोखाको बुद्ध श्रेष्ठको चाकु उद्योगमा २५ भन्दा बढी कामदार चाकु उत्पादन कार्यमा खटिएका छन् । पहिले उखु खेतीका लागि प्रख्यात टोखामा अहिले उखु खेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्लाबाट आउने गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३० देखि एक सय ३५ रुपैयाँसम्म बिक्री हुँदै आएको छ । चाकुको माग बढेसँगै महँगो भएको गुनासो पनि आउने गरेको छ । यस सम्बन्धमा बिचौलियाको कारणले पनि महँगो भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

सामान्यतया दैनिक ४० देखि ५० किलो उत्पादन गरिने भए पनि मंसिर र पुसमा दैनिक ४०० देखि ५०० किलो उत्पादन हुने गरेको छ । नयाँ टेक्नोलोजीको प्रयोग गरेर विश्व बजारसम्म लैजानका लागि नेपाल सरकारले कुनै चासो नदिएको व्यवसायीको गुनासो छ ।

माघे संक्रान्ति देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरेर मनाइन्छ । संक्रान्तिका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई नेपालमा माघे संक्रान्ति, तिलुवा संक्रान्ति, मकर संक्रान्ति र माघीका विभिन्न रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?