न्यायाधीशसँग रविले भने– ‘सहकारी पीडितको पक्षमा उभिन्छु तारेखमा छाडिदिनुस् श्रीमान्’

लोकपथ
399
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष सो आग्रह गरेका हुन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा खेपिरहेका लामिछानेले थुनछेक बहस सकिएसँगै आजै आदेश जारी हुने बुझिएको छ ।

आज अदालतमा उपस्थित गराइएका लामिछानेलाई इजलास बस्नुअघि न्यायाधीश राईले बोल्नका लागि ५ मिनेट समय दिएका थिए । सो क्रममा लामिछानेले आफू सूर्यदर्शन सहकारी पीडितको पक्षमा उभिने भन्दै तारेखमा छाडिदिन आग्रह गरे । त्यतिमात्र होइन आफू तारेखमा छुटेमा हरेक पटक अदालतमा आउँदा सहकारी पीडितको पक्षमा के के काम गरेँ भन्ने रिपोर्ट समेत लिएर आउने बचन समेत दिए ।

‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अंग पनि बनेको छ,’ लामिछानेले न्यायाधीश राई समक्ष भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के–के गरेँ भन्ने रिपोर्टसहित आउनेछु।’

सो क्रममा लामिछानेले धेरै बेर समय लिएपछि न्यायाधीश राईले आफ्नो कुरा छोट्याउन आग्रह समेत गरेका थिए । सो क्रममा लामिछानेले आफू पीडित भएका कारण धेरै समय बोल्न परेको बताएका थिए । साथै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको समेत लामिछानेले बताएका थिए ।

सूर्यदर्शन सहकारी ठगीमा रविसहित सबै प्रतिवादीको बयान सकिएको छ । आजै आदेश जारी गर्ने तयारी गरिएको छ ।

यो पनि…

रवि निलम्बनमा कानुनविद्को राय : विपिन– ‘त्यो मनी लाउन्ड्रिङको केस नै होइन’, भिमार्जुन– ‘आपत्तिजनक छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?