ओलीको बोलीले ७ बुँदेको अपमान र सरकारको औचित्य समाप्त भयो : नेता केसी

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सार्वजनिक धारणाबारे आपत्ति जनाएका छन् ।

बिहीबार काठमाडौंमा पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा प्राज्ञिक मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको बोलीले ७ बुँदे सहमतीको अपमान भएको बताए । साथै संविधान संशोधन गर्छु भनेर जनतामा गएको तर अब संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ भन्ने प्रधानमन्त्रीको धारणाले सरकारको औचित्य समेत सकिएको नेता केसीले बताए ।

प्रधानमन्त्री ओलीले हालैको केन्द्रीय कमिटी बैठकमा अहिले तत्काल संविधान संशोधन सम्भव नहुने बताएका थिए । साथै आगामी ०८७ सालमा मात्रै संविधान संशोधन हुने ओलीको धारणा थियो ।

प्रधानमन्त्री ओलीको भनाइप्रति कटाक्ष गर्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले भने, ‘अहिले देखिएको अस्थिरतालाई स्थिरता दिन सक्छ भन्ने संकल्पका साथ अहिलेको सरकार बनेको थियो । संविधान संशोधन गर्ने लगायतका विषयले दुई ठूला दल मिल्नुको औचित्य प्रमाणित भएको थियो । हामीले पनि त्यसलाई समर्थन गरेका थियौँ । तर अहिले ०८७ साल नभइ संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले दुई दल बनाउने मुख्य ७ बुँदे सहमतीमाथि अपमान भएको छ । र अब यो सरकारको औचित्य पनि समाप्त भएको छ ।’

आफूले बोलेर जनतामा गएको विषयमा बिचमा कुरा फेर्दा राजनीतिक बेइमानी हुने समेत उनले बताए ।

संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु उचित नहुने भए पनि देशलाई संकटबाट बाहिर निकाल्न दुई दलले संकल्प गरेर सरकार निर्माण भएको बताए ।

अहिले संविधान संशोधनको विषयमा सम्भव नहुने भए जनताबाट धारणा लिने, नागरिक समाजका कुरा सुन्ने र धारणा बनाउने काम गर्न समेत नेता केसीले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?