काठमाडौं । सरकारले नेपाल बीमाप्राधिकरणको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ । सरकारले बीमा प्राधिकरण अध्यक्षका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो ।
अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले १५ दिन भित्र आवेदन दिन भनेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार, काठमाडौंमा गोप्य खामवन्दी आवेदन दिन आग्रह गरिएको छ ।
आवेदन दिने व्यक्तिले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।
उक्त पदका लागि ३० वर्ष देखि ६५ वर्ष उमेरसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
पुस ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल बीमाप्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य छन् ।
बीमा प्राधिकरणका तात्कालिन अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया