काठमाडौं । बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ । ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गोलपार्क,हस्पिटल लाइन,राजमार्ग चौराह, योगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराए ।
उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भीडभाड हुने कालिकानगरस्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताए ।
सडक सुरक्षालाई मध्यनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउँदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गरे ।
बुटवललाई सफा,स्वच्छ,हरियाली,उज्यालो र सुरक्षित सहरको रूपमा विकास गर्ने उद्देश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको भन्दै उनले राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया