अर्को वर्षदेखि आँखा उपचारसँग जोडिएको चस्माको भ्याट र भन्सार लिँदैनौ : स्वास्थ्यमन्त्री पौडेल 

लोकपथ
35
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दै उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरे । 

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्ने कुरा पनि महत्त्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरूले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरूमा, उपचार संस्थाहरूमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गराैँ । उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोशिस गरौँ । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्ने गरी हामीले अघि बढौँ । ठूला ठूला भवन भन्दा साना साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ । चस्माको कुरा गर्नुभएको छ । चस्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ । अरू पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरू बाहरिबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सीमानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?