सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज

एआईजी दाहालसँग मन मिल्दा ऐनको मस्यौदा नै हेरफेर

लोकपथ
4k
Shares

काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतहरूको धमाधम बढुवा भइरहेका बेला सशस्त्र प्रहरी बलमा भने बढुवा प्रक्रिया नै गिजोलिएको छ । सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएसँगै दुई डीआईजीको दरबन्दी खाली छ । तर, अहिलेसम्म सरकारले बढुवा प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । तर नेपाल प्रहरीमा भने भदौ १६ गतेपछि नै दुई चरणमा गरी १३ जना डीआईजीमा बढुवा भइसकेका छन् ।

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया गिजोलिँदा त्यसको असर अन्य दर्जामा पनि परेको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी), नायव उपरीक्षक (डीएसपी) बाट एसपीलगायत पदमा त्यसको असर लामै समयदेखि परिरहेको छ । अझै बढुवा प्रक्रिया कति समयसम्म गिजोलिने हो, त्यसको कुनै ठेगान छैन ।

सशस्त्र प्रहरीमा सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये पाँच जना डीआईजी भइसकेका छन् । बाँकी चार जनामध्ये मनिष थापा र कृष्ण ढकाल मुख्य दाबेदार छन् । उनीहरू मात्रै होइन, नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका उनीहरू भन्दा सिनियर कृष्णराज पाठक पनि बढुवाका दाबेदार हुन् । तर अहिले डीआईजीको दुई ओटा दरबन्दी मात्र रिक्त छ । पाठक तिनै सशस्त्र प्रहरी अधिकृत हुन्, जो डीआईजीको दुई पटकको बढुवामा छुटिसकेका छन् । झापा घर भएका पाठकलाई यो पटकको बढुवामा छुटाउन नहुने मत पछिल्ला दिनमा बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे यो पटकको बढुवामा उनलाई छुटाउन नहुने पक्षमा उभिएको स्रोतको दाबी छ ।

आगामी १० माघमा प्राविधिक पृष्ठभूमिका डीआईजी इन्जिनियर किशोर प्रधान पनि घर जाँदै छन् । चार जोड एककै कारण हालसम्म डीआईजीको कुर्सीमा विराजमान प्रधानले शक्तिकेन्द्र गुहारी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी ल्याउन पहलसमेत गरेका थिए । एआईजीको नयाँ दरबन्दीसम्बन्धी फाइल गृह मन्त्रालयले अर्थ मन्त्रालयमा समेत पठाएको थियो । तर अर्थ मन्त्रालयले नयाँ दरबन्दी थप्न स्वीकृति नदिएपछि उनी १० माघमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।
प्रधान अवकाशमा गएपछि डीआईजीको एउटा दरबन्दी रिक्त हुँदा सिसम १ का दुई जना थापा र ढकाल, यसअघि दुई पटक छुटिसकेका पाठकलाई बढुवा गर्न कुनै समस्या हुने थिएन । तर, यसका लागि तगारो देखिएका छन्, सशस्त्र प्रहरी संगठनभित्रै सदाबहार ज्वाइँ भनेर चिनिएका एसएसपी दीपेन्द्र कुँवर ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार कुँवरमाथि अहिले रिक्त दुई ओटा दरबन्दीमा आफूलाई पनि बढुवा गर्न दबाब दिएको आरोप छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल हाल रिक्त दुई ओटा दरबन्दीमा सिसम १ टोलीका थापा र ढकाललाई बढुवा गर्न सकारात्मक भए पनि कुँवरकै कारण पछि हटेको चर्चा पनि सशस्त्र मुख्यालयमा छ । कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । भानु देउवा प्रधानमन्त्री देउवाका भतिजा हुन् ।
त्यसो त सिसम १ टोलीका कारण आफू बढुवा नहुने निश्चित भएपछि कुँवरले डीआईजीको दरबन्दी थप गरेर आफ्नो बढुवा निश्चिन्त गर्न खोजेका थिए । तर, अर्थ मन्त्रालय सकारात्मक नहुँदा उनको यो योजना पनि फेल खायो ।

दरबन्दी थप्ने प्रयास पनि खेर गएपछि उनी चार जना डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको चार जोड एक नथप्न कम्मर कसेर लागे । उनको यो गैरव्यावसायिक आचरणले सशस्त्र प्रहरी नै डीआईजीको म्याद थप्नुपर्ने/थप्न नहुने पक्षमा ध्रुविकृत भयो । यी चार डीआईजीको म्याद तीन घण्टा मात्र बाँकी रहँदा सरकारले उनीहरूको म्याद थप गर्ने निर्णय लिएको थियो ।

अब प्रधान पनि अवकाशमा गएपछि रिक्त हुने तीन दरबन्दीमा आफू पनि बढुवामा पर्न कुँवरले भरमग्दुर प्रयास गर्ने नै छन् । उनको यो कार्यले सशस्त्र प्रहरी मुख्यालयमा फेरि अर्को कम्पन आउने निश्चित छ । किनभने कांग्रेस सभापति देउवाले ज्वाइँ कुँवरलाई बढुवा गर्न दबाब दिँदा प्रधानमन्त्री कार्यालयले एसएसपी विष्णुप्रसाद भट्टको नाममा पनि अडान नलेला भन्न सकिँदैन । नुवाकोट निवासी भट्टलाई प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको दरिलो समर्थन रहँदै आएको सशस्त्र मुख्यालयमा चर्चा चल्ने गर्छ । अझ कुँवर र भट्ट भन्दा प्रवीण कुँवर सिनियर छन् । उनी नेपाल प्रहरीबाट सशस्त्रमा आएका अधिकृत हुन् ।

सत्ताको आडमा जहिले पनि चलखेल
गृह मन्त्रालयले १४ जनालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्दा पहिलो नम्बरमा प्रवीण कँडेल भए पनि सिसम २ को हकमा कुँवरलाई नै पहिलो वरीयतामा बढुवा गरिएको थियो । त्यसबेलाका प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको नातेदार भएकै कारण कुँवरलाई पहिलो नम्बरमा बढुवा सिफारिस गरिएपछि सशस्त्र प्रहरीमा त्यसबेला तीव्र असन्तुष्टि देखिएको थियो ।

कुँवरलाई एसएसपीमा बढुवा गर्नैका लागि सरकारले त्यसबेला सशस्त्र प्रहरी नियमावली २०७२ नै संशोधन गरेको थियो । नियमावलीको नियम ४० मा बढुवाका लागि ‘सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएकोमा कुँवरलाई बढुवा गर्नकै लागि सरकारले नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्ष मात्रै भए पुग्ने बनाएको थियो । नियमावली संशोधन नगरेको भए कुँवर त्यसबेला बढुवा हुन योग्य नै हुने थिएनन् । त्यसबेला यतिसम्म भएको थियो कि, नियमावली संशोधन गर्नेबित्तिकै कार्यान्वयनमा ल्याइएको थियो ।

कुँवर २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यतिबेला उनी ७४ जना ब्याचीमध्ये सबैभन्दा पुछारतिर थिए । एसएसपी बढुवामा सिसम २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको पहिलो नम्बरमा रहेका भट्टलाई तत्कालीन सत्ताको आडमा कुँवरभन्दा पछाडि राखेर बढुवा गरिएको थियो । त्यसबेला संगठनप्रति इमानदार, क्षमतावान् अधिकृतहरू भट्टसहित अन्यलाई पछाडि पारेर कुँवर जस्ता चाकडीबाजलाई पहिलो नम्बरमा बढुवा गरिएको भन्दै चर्को आलोचनासमेत भएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपी हुँदा भने कुँवर आफ्नो ब्याचको १०औँ नम्बरमा आएका थिए ।
कुँवरका सजिलो हुने गरी सरकारले गरेको त्यो नै पहिलो निर्णय थिएन । उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको थियो

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपी हुँदा भने कुँवर आफ्नो ब्याचको १०औँ नम्बरमा आएका थिए ।
कुँवरका सजिलो हुने गरी सरकारले गरेको त्यो नै पहिलो निर्णय थिएन । उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको थियो । एसपीबाट एसएसपी हुन चार वर्षको अवधि पूरा गरेको हुनुपर्ने भए पनि सशस्त्र प्रहरीमा एसएसपीको पद रिक्त भए वरिष्ठ एसपीहरूलाई नै कायममुकायम एसएसपीको दर्जा दिने चलन थियो । २०७७ माघमा सशस्त्र प्रहरीमा एसएसपीका आठ पद रिक्त भएका थिए । तर सरकारले एक वर्षसम्म कसैलाई कामु दिएन । जब ११ औँ नम्बरसम्म पद खाली भयो तब मात्रै कुँवर समेतलाई समेटेर कामु बनाइएको थियो ।

सशस्त्रको स्टाफ कलेजमै दुई पटक फेल

सशस्त्रमा डीआईजीमा बढुवा हुन स्टाफ कलेज पास गर्नै पर्छ । यो नियम सशस्त्र प्रहरी निरीक्षकमा फ्री कम्पिटिसनमा लडेकाको हकमा मात्रै हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थानान्तरण भएकाको हकमा भने यो नियम लागू हुँदैन । ‘ज्वाइँ’ कुँवर भने सशस्त्रको स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए ।

दुई पटकसम्म पनि फेल भएपछि उनलाई बिना प्रतिस्पर्धा नेपाली सेनाको शिवपुरीमा हुने स्टाफ कलेजको कोर्सका लागि पठाइएको थियो । माथिल्लो निकायमा इच्छा व्यक्त गरेपछि उनलाई त्यसैअनुसार नै सहभागी गराइएको थियो । एक घण्टा पनि एकै ठाउँ बसेर लेख्न नसक्ने उनलाई नेपाली सेनाको स्टाफ कलेजमा कोर्सका लागि ठाउँ दिएको भन्दै तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चर्को आलोचना भएको थियो ।

प्रस्तावित ऐनको मस्यौदामा समेत चलखेल गरेको आरोप
कुँवरमाथि आफू आईजीपी हुनकै लागि सशस्त्रको प्रस्तावित ऐनको मस्यौदामा समेत चलखेल गरेको आरोप छ । नयाँ ऐनको मस्यौदामा सशस्त्र प्रहरीले प्रस्ताव गरेको प्रावधानभन्दा गृह मन्त्रालयले अगाडि बढाएको प्रस्ताव फरक छ । जुन मस्यौदा अनुसार कुँवरलाई फाइदा पुग्ने देखिन्छ । सशस्त्र प्रहरीले आईजीपीको कार्यकाल तीन वर्ष, एआईजी चार वर्ष र डीआईजीको ५ वर्ष प्रस्ताव गरेको थियो । तर अहिले गृह मन्त्रालयले अगाडि बढाएकोमा एआईजी र आईजीपीको तीन वर्ष बनाइएको छ । एसएसपी ८ वर्ष बनाउँदा एसपीको पदावधि नै नराख्ने मस्यौदा गरिएको छ । हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल २०८३ वैशाखमा सकिन्छ । त्यसपछि अहिलेकै अवस्थामा एआईजी नारायणदत्त पौडेल २२ महिना आईजीपी बन्नेछन् ।

अहिलेकै अवस्थामा कमल गिरी, गणेश ठाडा मगरको टोलीबाट करिब डेढ वर्षका लागि त्यसपछिको आईजीपी बन्नेछ । त्यसपछि सशस्त्रमै भर्ना भएको पहिलो ब्याचको टोली र त्यसपछि मात्रै दोस्रो ब्याचको टोलीबाट आईजीपी बन्ने अवस्था भए पनि त्यसलाई प्रभावित गर्ने गरी मस्यौदा अगाडि बढाइएको छ । जुन मस्यौदा अनुसार पहिलो ब्याचको टोली छिट्टै अवकाश हुँदा कुँवर सहजै आईजीपी बन्नेछन् । कुँवरले शक्ति केन्द्रलाई प्रभावमा पारेर आफू अनुकूल ऐनको मस्यौदा अगाडि बढाएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टि बढेको छ ।

उनलाई यो कार्यमा सशस्त्रका एआईजी वंशीराज दाहालले पनि समर्थन गरेका छन् । कथंकदाचित आगामी जेठ पहिलो सातापछि यो ऐन आए राजु अर्यालपछि दाहाल आईजीपी बन्ने छन् । दाहालले आफू आईजीपी भए त्यसको ६ महिनामै कुँवरलाई एआईजी बनाउने बचन दिएको पनि स्रोतको भनाइ छ । यसअघि एआईजीको दरबन्दी थप गरी दाहाललाई एआईजी बनाउन कुँवरले ठूलो साथ दिएको र यसमा ठूलै आर्थिक चलखेल भएको पनि सशस्त्रमा चर्चा चल्ने गर्छ ।

एआईजी दाहाल र कुँवरको सम्बन्धलाई लिएर सशस्त्रमा चल्ने गरेको हल्ला सुन्दा भने रमाइलो महसुस हुन्छ । सशस्त्रमा दाहाललाई चल्लाको ओत लागेको भनेर धेरैले उडाउने गर्छन् । देख्ने जान्नेहरू भन्छन्, एसएसपी कुँवर एआईजी दाहाललाई खोज्दै हिँड्दैनन्, दाहाल चाहिँ एसएसपी कुँवरलाई खोज्दै हिँड्छन् ।

यो पनि

ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी

सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी

स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो

डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री

सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?

सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?

सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?