बिचौलिया बढेपछि पर्सा जिल्ला अदालतले गठन गर्‍यो ‘बिचौलिया पहिचान समिति’

लोकपथ
14
Shares

वीरगन्ज । अदालतमा बिचौलियाको बिगबिगी भएको गुनासोपछि पर्सा जिल्ला अदालतले बिचौलियाको पहिचान र रोकथाम गर्न समिति गठन गरेको छ । पर्सा जिल्ला अदालतका प्रमुख भई काम गर्ने न्यायाधीश (एक नम्बर न्यायाधीश) अध्यक्ष रहने समितिले बिचौलिया पहिचानका लागि सुरुमा समिति गठन गरेको हो ।

पर्सा जिल्ला अदालतका प्रमुख भई काम गर्ने न्यायाधीशको अध्यक्षतामा गत पुस १८ गते बसेको बैठकले बिचौलियाको बिगबिगी बढेको निष्कर्ष निकाल्दै पहिलो चरणमा विचौलिाको पहिचान गर्न र रोकथामका उपायसहितको सुझाव दिन बिचौलिया पहिचान समिति गठन गरिएको छ । समितिको संयोजकमा वरिष्ठ अधिवक्ता दीपकराज भण्डारी छन् भने पर्सा जिल्ला अदालत बारका पूर्व अध्यक्ष पन्नालाल गुप्ता, जिल्ला अदालतका तहसिलदार सुदिप पोखरेल र जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता उमेश विजय थारु सदस्य तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष कमलमोहन पोखरेल सदस्य सचिव रहने गरी पहिचान समिति गठन गरिएको छ ।

पर्सा जिल्ला अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीका अनुसार यो समितिलाई पर्सा जिल्ला अदालतमा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाहरूको पहिचान गर्ने र रोकथामका उपायसहितका सुझाव दिन भनिएको छ । यो समिति गठन गर्दा न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू र त्यसको रोकथामको लागि चाल्नुपर्ने उपायका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश (पछि प्रधानन्यायाधीश) हरिकृष्ण कार्कीबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्य रहेको श्रेष्तेदार अधिकारीले लोकपथलाई बताए । बैठकका क्रममा पर्सा जिल्ला अदालतमा पनि विभिन्न किसिमका विकृति, विसङ्गति अनियमितता र बिचौलियाबाट न्याय सम्पादन र न्याय प्रशासनमा प्रभाव परिरहेको निष्कर्ष निकाल्दै त्यसलाई न्यूनीकरण गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक हस्तक्षेपकारी कदम चाल्नु पर्ने भनी निर्णय गरिएको छ ।

सुरुमा यस समितिले बिचौलियाहरूको पहिचान गरी रोकथामका उपायसहितको प्रतिवेदन मुख्य न्यायाधीश संयोजक रहने समितिलाई बुझाउने छ । उक्त समिति सुझाव कार्यान्वयनका लागि कार्यान्वयन समितिका रूपमा रहने र उक्त समितिमा मुख्य न्यायाधीश संयोजक रहने गरी कार्यान्वयन समितिसमेत गठन गरिएको छ । कार्यान्वयन समितिमा प्रमुख भई काम गर्ने न्यायाधीश संयोजक रहँदा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता र पहिचान समितिका सबै सदस्यहरू सदस्य रहने तथा जिल्ला अदालतका श्रेष्तेदार सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुधीर कर्णलाई स्थायी आमन्त्रित सदस्य राखिएको छ ।

पर्सा जिल्ला अदालत बारका अध्यक्ष कमलमोहन पोखरेलका अनुसार समितिले काम गर्न थालिसकेको छ र पहिलो चरणमा बिचौलियाको पहिचान गरी उनीहरूलाई रोकथामका लागि गर्न सकिने कामहरूका बारेमा प्रतिवेदन तयार पारिनेछ ।
मुख्य भई काम गर्ने न्यायाधीश दीपक खनाल सम्मिलित बैठकले नै अदालतमा बिचौलियाको बिगबिगी बढेको गुनासो आएको र कतिपय घटनाक्रमले अदालतमा बिचौलियाले चलखेल गरेको पाइएको निष्कर्ष निकालिएको थियो । सोही निष्कर्षका आधारमा समिति नै गठन गरेर जिल्ला अदालतमा हुन सक्ने भ्रष्टाचार, अनियमितता आदि रोक्नका लागि पहिचान समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?