काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरू समस्याग्रस्त भएको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताएका हुन् ।
उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भए पनि सरकारले नदिएको बताए । उनले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गरे । यो वर्ष गर्नुपर्ने भुक्तानीहरूको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।
अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निष्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताए । उनले सिमेन्ट र डन्डी लगायतका निर्माण सागम्रीहरुमा भएको कालोबजारीको कसरी विरोध गर्ने भन्ने निष्कर्षका लागि पनि भेला बोलाइएको बताए । सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायीहरू भेलामा उपस्थित रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया