वीरगञ्ज । विवाह गर्नका लागि रोजगारीमा गएको देश र रोजगारी नै छाडेर फर्किएका एक युवक करिब २ वर्षदेखि जिल्ला कारागार पर्सामा बन्दी जीवन बिताइरहेका छन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा एक वर्ष र त्यहाँबाट माल्टा पुगेको ६ महिनामा नै युवतीसँग विवाह गर्न नेपाल आएका गोरखाका सञ्जीव परियार (नाम परिवर्तन) करिब २ वर्षदेखि बलात्कारको कसुरमा थुनामा पुगेका हुन् ।
सञ्जीवलाई थुनामा पठाउने अरू कोही नभएर जुन युवतीका लागि माल्टा छाडेर फर्किएका थिए, उनै युवतीको जाहेरी अर्थात् प्रेमिका नै हुन् । तनहुँ घर भई चितवनको भरतपुरमा बस्ने २० वर्षीय (हाल वर्ष २२) की युवती निकिता विश्वकर्मा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरेको अभियोगमा उनकै जाहेरीका आधारमा १९ वर्षीय (हाल वर्ष २१) सञ्जीव पक्राउ मात्रै परेनन्, २१ महिनादेखि थुनामा छन् । सञ्जीव २१ महिनादेखि थुनामा रहेको भए पनि पर्सा जिल्ला अदालत भने बन्द कोठामा भएको बलात्कारको घटनाको ‘साक्षी’ खोजेर बस्दा यो मुद्दा लामो समयदेखि अल्झिएर बसेको छ ।
यस्तो थियो घटना
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका सञ्जीव परियार रोजगारीका लागि युरोपियन मुलुक माल्टा पुगेका थिए । सुरुमा युएईको दुबईमा रोजगारी गरेका सञ्जीव त्यसपछि माल्टा पुगेका थिए । माल्टामा रोजगारी गरिरहेकै समयमा तनहुँ स्थायी ठेगाना भई चितवनको भरतपुरमा बस्ने निकिता विश्वकर्मासँग सामाजिक सञ्जाल फेसबुकमार्फत उनको चिनजान भयो ।
२०७९ कात्तिक–मंसिर महिनादेखि सुरु भएको चिनजान बिस्तारै मायाप्रेममा परिणत भयो । सञ्जीवको उमेर १९ वर्ष (तत्कालीन समयमा उमेर बढाएर बनाइएको नागरिकतामा २१ वर्ष) र निकिताको उमेर २० वर्ष (तत्कालीन समयमा) भएको कारण उमेर मिल्ने, भूगोल मिल्ने, जात मिल्ने र सोचसमेत मिल्ने, दुवै अविवाहित भएको कारण उनीहरूले विवाह गर्ने निर्णय गरे ।
निकितासँग विवाह गर्ने भन्दै सञ्जीव २०८० वैशाख १९ गते नेपाल फर्किए । नेपाल फर्कनुभन्दा अगावै सञ्जीवले निकितालाई भनेर केही रकम पठाइसकेका थिए भने विदेशबाट फर्कँदा आइफोन, चकलेट आदि पनि ल्याइदिएका थिए ।
सञ्जीव नेपाल फर्किएर आफ्नो घर गोरखाको पालुङटार गए । निकिताको घर पनि नजिक नै भएका कारण निकिता पनि सञ्जीवलाई भेट्न आफ्नो घर दमौली र युवकको घर पालुङटारको आसपास पर्ने क्षेत्रमा पुगिन् । दुवै जनाबीच लामो कुराकानी भयो र निकितालाई आइफोन, चकलेटलगायतका गिफ्ट दिएर त्यस दिन सञ्जीव घर फर्किए ।
पहिलो पटक भेटेर फर्किएपछि २०८० वैशाख २३ गते फेरि सञ्जीवले निकितालाई भेट्ने निधो गरे । सञ्जीवले आफ्नो ठूलीआमाको छोराको विवाहमा जानु छ भन्दै निकितालाई समेत बोलाए र दुवै जना विवाहमा गए । सञ्जीव र निकिता भेटघाट भएपछि निकिताले नै घुम्न जाऊँ भनेपछि उनीहरू घुम्नका लागि भारतको राँची जाने भन्दै तनहुँबाट मुग्लिन हुँदै वीरगञ्ज आइपुगे ।
२०८०, वैशाख २३ । रातको ८ः३० बजे उनीहरू वीरगञ्ज आइपुगे । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा रहेको लामा होटलमा उनीहरूले श्रीमान् र श्रीमतीको रूपमा चेक इन गरे । होटलमा चेक इन गर्दा उनीहरू दुवैले नागरिकता समेत राखे । अनि होटल सञ्चालकले उनीहरूलाई १०३ नम्बरको कोठा दिए ।
कोठामा पुगेपछि उनीहरूले एक बोतल बियर र दुई वटा गिलास तथा खाना मगाएर सँगै खाए । साथै भोलिपल्ट अर्थात् जेठ २४ गतेका लागि भारतको राँची जान टिकट काटिदिन भन्दै होटल सञ्चालकलाई भने । ग्राहकले भनेबमोजिम होटल सञ्चालकले समेत राँचीका लागि दुई वटा टिकट काटिदिए ।
२०८० वैशाख २४ गते अपराह्न १२ः३० बजे उनीहरू होटलबाट चेक आउट भए । तर उनीहरू भारतको राँची नगई घर फर्किने भए र पुनः चितवनका लागि बस चढे । वैशाख २४ गते चितवनको पोखरा बसपार्क पुगेर निकिता आफ्नो कोठातिर गइन् भने सञ्जीव आफ्नो घर गोरखा फर्किए ।
वीरगञ्जमै हुँदा सञ्जीव र निकिताबीच केही विषयमा विवाद भयो । विवादपछि निकिताले सञ्जीवसँग विवाह गर्न नसक्ने बताइन् । त्यसपछि उनीहरू भारत नगई घर फर्किएका थिए ।
जब निकिताले सञ्जीवसँग विवाह गर्न नसक्ने कुरा बताइन्, त्यसपछि सञ्जीवले निकितासँग आफूले दिएको पैसा र आइफोन फिर्ता मागे । निकिताले पैसा खर्च भइसकेको र आइफोन पनि फिर्ता नदिने बताइन् । सञ्जीवले आइफोन र पैसा फिर्ता गर्न वा एक लाख रुपैयाँ दिन भनेपछि वीरगञ्ज आएर बसेको ५ दिनपछि तनहुँ प्रहरीमा निकिताले सञ्जीवविरुद्ध बलात्कारको ठाडो उजुरी दिइन् । उजुरी प्राप्त भएपछि तनहुँ प्रहरीकै योजनामा पैसा र आइफोन फिर्ता दिने भनी सञ्जीवलाई तनहुँको व्यासमा बोलाएर पक्राउ गरियो । तर वारदातस्थल पर्साको वीरगञ्ज रहेको भनेपछि तनहुँ प्रहरीले सञ्जीवलाई समेत पर्सा प्रहरीको जिम्मा लगाइदियो ।
२०८० वैशाख २९ गते । तनहुँ प्रहरीले सञ्जीवलाई समेत पक्राउ गरी पर्सा प्रहरीको जिम्मा लगाएपछि सोही दिन निकिताले पर्सा प्रहरीमा सञ्जीवविरुद्ध बलात्कारको जाहेरी दिइन् । प्रहरीले सोही दिन निकिताको स्वास्थ्य परीक्षण गरायो । सोही दिन अदालतबाट सञ्जीवविरुद्ध पक्राउ पुर्जी लिएर प्रक्रिया पूरा ग-यो भने साही दिन नै घटनास्थल मुचुल्का तयार पार्नेलगायतका काम ग-यो ।
त्यसपछि प्रहरीले निकितासँग घटना विवरण कागज गरायो र आरोपित सञ्जीवसँग पनि मौकाको बयान लियो । सञ्जीवले आफ्नो मौकाको बयानमा आफूहरू प्रेममा रहेको र विवाह गर्ने भनी बोलाएकाले आफू विवाह गर्ने उद्देश्यका साथ नेपाल आएको तर जाहेरवालीले विवाह गर्न नमानेपछि विवाद भएको उल्लेख गरेका छन् ।
सञ्जीवले प्रहरीसमक्ष दिएको मौकाको बयान यस्तो छ :
‘म वैदेशिक रोजगारीको सिलसिलामा दुबई (युएई) देशमा गएको २ वर्ष जति भयो । बुबा पनि दुबईमा नै हुनुहुन्छ । दुबईमा रहँदा बस्दाको समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत हालकी जाहेरवाली जिल्ला ३४–०७९।०८०–३ सँग चिनजान भई विगतदेखि नै फेसबुक, ईमो मार्फत बोलचाल हुँदै निज पीडितसँग माया–प्रेम बसी निजसँग विवाहसमेत गर्ने कुरा भई म नेपालमा आएपश्चात् घुम्न जानेसमेत पीडितसँग कुरा भएकोमा मिति २०८०।०१।१९ गते म विदेशबाट घरमा आएको हुँ । घरमा आएपश्चात् मैले निज जाहेरवाली जिल्ला ३४–०७९/०८०–३ लाई मेरो ठूलीआमाको छोराको विवाह छ विवाहमा आउ भनेको हुँदा निज मेरो ठूलीआमाको छोराको विवाहमा सहभागी हुन मिति २०८०।०१।२३ गतेका दिन जाहेरवाली सहभागी भई निज जाहेरवालीले नै घुम्न जाऊँ भनेको हुँदा हामी दुवै जना मुग्लिङ बजारमा आई मुग्लिङबाट वीरगञ्जको लागि बस चढी वीरगन्जमा हामी रातको अन्दाजी २०ः३० बजेको समयमा आई पुग्यौँ ।
सो पश्चात् बस्ने होटेल हेर्दै जाँदा बसपार्कमा रहेको लामा होटल एन्ड लजमा गई होटलका सञ्चालकले हामी दुवै जनालाई सोधपुछ गर्दा निज जाहेरवालीले नै पहिला हामी श्रीमान् श्रीमतीहरू हौँ भनी होटलका सञ्चालकलाई भनेको हुँदा हामीहरूको परिचय खुल्ने कागजातहरू हेरी मैले मेरो नाममा होटेल बुक गरी हामीलाई १०३ नम्बरको कोठा होटलका सञ्चालकले दिएकोमा म तथा हालकी जाहेरवाली उक्त कोठामा गई बसेको, सो को केहीबेरमा मैले एउटा खाना र एउटा बियर र २ वटा गिलास लगी हामी दुवै जनाले १–१ गिलास बियर खाई खाना पनि आधा–आधा खाई हामी सुतेका हौँ । रातीको अन्दाजी १० बजेतिर मलाई करणी गर्न मन लागेकोमा निज जाहेरवालीकै मन्जुरीमा मैले एक पटक करणी गरेको हुँ । सो पश्चात् रातभरि मैले करणी गरिनँ । सोको भोलिपल्ट बिहानको अन्दाजी १० बजेतिर हामी दुवै जनाले खाना खाई होटलबाट भारतको राँचीतर्फ घुम्न जाने भन्ने कुरा होटलका सञ्चालकलाई बताएकोमा होटलका सञ्चालकले गाडीको टिकट काटिदिएका थिए । …………………….
तनहुँ जिल्लाको आँबुखैरेनीमा छाडी म आफ्नो घरतर्फ गएको हुँ । सो पश्चात् निज पीडितले मलाई मिति २०८०।०१।२९ गतेका दिन तपाईंले मलाई दिएको पैसा फिर्ता दिन्छु लिन आउनु भनेको हुँदा म तनहुँ जिल्लाको ब्यास नगरपालिका आउँदा निजले मलाई प्रहरी लगाएर पक्राउ गर्न लगाएको हो । पछि कुरा बुझ्दा निजले मलाई जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा मविरुद्धमा किटानी जाहेरी दरखास्त दिएको भन्ने कुरा जानकारी पाएको हुँ । तर मैले निज पीडितलाई जबरजस्ती करणी गरेको होइन । निजकै मन्जुरीमा मैले एक पटक करणी गरेको हुँ । र, म विदेशमा रहँदा निजलाई मैले पैसासमेत पठाएको थिएँ । म तथा जाहेरवाली होटलमा रहँदा बस्दाको समयमा मैले जबरजस्ती करणी गरेको कुनै फोटो खिचेको छैन र निज जाहेरवालीसँग मैले एक लाख रकम समेत मागेको होइन ।’
प्रहरीले साक्षी राख्दा पनि घटनास्थल मुचुल्का बनाउँदा वरिपरिका व्यक्तिलाई साक्षी राखिदिने गर्छन् । तर पछि उनीहरू अन्यत्र पुग्दा साक्षी भेट्टाउनै मुस्किल हुन्छ ।…..
यही विषयहरूलाई समेटेर प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले सञ्जीवविरुद्ध २०८० जेठ २३ गते पर्सा जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दायर ग-यो ।
मुद्दा दर्ता भएको भोलिपल्ट न्यायाधीश पुरुषोत्तम नेपालको इजलासले सञ्जीवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि उक्त मुद्दा १३ पटक पेसीमा चढ्दा दुई पटक प्रतिवादीको कानुन व्यवसायीले स्थगित गराएका छन् । त्यतिबेला दुवै पटक न्यायाधीश मोना सिंहको इजलासमा पेसी तोकिएको थियो । महिला न्यायाधीशको इजलासमा सुनुवाइ हुँदा ठहर हुन्छ भन्ने त्रासले प्रतिवादीको कानुन व्यवसायीले मुद्दा स्थगित गराएका थिए ।
साक्षी बुझ्नमै अड्कियो अदालत
त्यसपछिका अधिकांश पेसीमा न्यायाधीश पन्छिने गरेका छन् । अधिकांश पेसीमा न्यायाधीश अदालत नआउने साक्षी बुझ्ने भन्दै पन्छिरहेका छन् । २०८० असार ११ गतेको पेसीमा पहिलो पटक साक्षी बुझ्ने आदेश भएको थियो । त्यसपछि भदौ १० गतेको पेसीमा पनि साक्षी बुझ्ने आदेश भयो र त्यसपछिका अधिकांश आदेशमा पूर्व आदेशअनुसार कार्य सम्पन्न गर्ने अर्थात् पुनः साक्षी बुझ्ने भन्ने आदेश भएको छ ।
जबरजस्ती करणीको कसुर बन्द कोठामा हुने कसुर रहेको र त्यसमा प्रत्यक्ष साक्षी नहुने भन्ने सर्वोच्च अदालतकै व्याख्याविपरीत अदालत भने साक्षी बुझ्नमै अड्किरहँदा युवकको बन्दी जीवन भने लम्बिइरहेको छ । त्यसमाथि प्रहरीले साक्षी राख्दा पनि घटनास्थल मुचुल्का बनाउँदा वरिपरिका व्यक्तिलाई साक्षी राखिदिने गर्छन् । तर पछि उनीहरू अन्यत्र पुग्दा साक्षी भेट्टाउनै मुस्किल हुन्छ ।
सर्वोच्चका धेरै फैसलाहरूमा बलात्कारका घटनामा प्रत्यक्षदर्शी वा प्रत्यक्ष साक्षी नहुने भन्ने व्याख्या भइसकेको छ । तर पर्सा जिल्ला अदालत भने बन्द कोठामा भएको भनिएको जबरजस्ती करणीको घटनामा साक्षी बुझ्नमै केन्द्रित हुँदा न्याय भने प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया