महोत्तरीमा धानको उत्पादन ३० प्रतिशतले बढ्यो

लोकपथ
35
Shares

जलेश्वर ।  महोत्तरीमा यस वर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो । जुन गत वर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धान खेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो । 

महोत्तरीमा यस वर्ष पर्याप्त वर्षा उन्नत प्रजातिका बिउ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए । उनले मसिनो र सुगन्धित धान (बासमति, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताए । उनका अनुसार यस वर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धान खेती गरिएकोमा १० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको हो ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमल पाँच मेट्रिक टन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?