कैलालीबाट लागुऔषधसहित चार जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कैलालीको विभिन्न स्थानबाट अवैध लागुऔषधसहित चार जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका-२ विजयनगरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २५ वर्षीय श्याम चौधरीसमेत २ जनालाई प्रहरी टोलीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थ सहित शनिबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कैलाली कै गोदावरी नगरपालिका–१ भगतपुरबाट अवैध लागुऔषध खैरो हेरोइन २ सय १० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने ३४ वर्षीय दीपक चदारालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?