रविलाई अदालत लगिँदै, आजै आदेश आउन सक्ने

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै छ ।

आइतबार जिल्ला अदालत काठमाडौं लगिएकोमा थुनछेक बहस नै सुरु नभएपछि आज थुनछेकका लागि अदालत लैजान लागिएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेको थुनछेक बहस सुरु नभएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएका थिए । लामिछाने पक्षका कानुन व्यवसायीहरुले भने उनी भाग्ने वा मुद्दालाई असहयोग नगर्ने भन्दै परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए ।

आइतबार लामिछानेले सहकारी ठगी प्रकरणमा बयान दिएका थिए । हिजो नै थुनछेक बहस हुने भनिएकोमा सरकारी वकिलहरुले लामिछानेको आदेश पढ्न नभ्याएकाले उक्त आदेश पढ्नका लागि समय माग गरेका थिए ।

आज बिहान ११ बजे जिल्ला अदालत काठमाडौंमा पुर्याइने तयारी गरिएको छ । थुनछेक बहस आज सकिएमा आजै आदेश आउन सक्ने समेत सम्भावना रहेको कानुन व्यवसायीहरुले बताएका छन् ।

त्यसो त गत बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत कार्तिक २ गते पक्राउ परेका थिए । उनलाई ८४ दिनसम्म हिरासतमा राखेर ६५ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । त्यससँगै उनी हिरासतमुक्त भएकोमा आइतबार पुनः हिरासतमुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?