एकीकृत समाजवादीसँग वामदेवका असीमित माग, एकताको मार्गमा अवरोध

लोकपथ
3.1k
Shares
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच हुने भनिएको एकता प्रक्रियामा पुनः अवरोध सिर्जना भएको छ ।

पुसको पहिलो साता गम्भीर छलफल गरेर तत्काल पार्टी नै एकीकरण गरेर जाने तहसम्म नेताहरुको छलफल अघि बढेको थियो । तर पछिल्ला एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीको मार्गदर्शक शिद्धान्तमा अडिग नरहेपछि पुनः पार्टी एकता प्रक्रियामा अवरोध सिर्जना भएको हो ।

०७८ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि वामदेव गौतम कम्युनिष्ट एकताका लागि लागे । त्यसबीचमा एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरुसँग समेत वामदेवको छलफल निरन्तर नै चलिरहेको थियो । तर कुनै दलसँग समेत कुरा नमिलेपछि चुप बसेको वामदेव पछिल्ला दिनमा पुनः पार्टी एकताका लागि लागी परेका हुन् ।

सुरुमा वामदेवले नेकपा एकीकृत समाजवादीको गत असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेका एजेण्डाहरुमा सहमती जनाउने भएसँगै पार्टी एकता प्रक्रियालाई अघि बढाइएको थियो । जसमा गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा राख्ने सहमती समेत भइसकेको थियो । साथै एमालेले नै अंगिकार गरिरहेको जनताको बहुदलीय जनवाद छाड्न वामदेव तयार भएका थिए । जबज छाडेर समाजवादलाई आफ्नो मुख्य शिद्धान्त बनाएको एकीकृत समाजवादीले जबज छाड्दै १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको एजेण्डा मान्न तयार भएपछि उनलाई वरिष्ठ नेताको हैसियतमा पाटी एकता गर्न तयारी थियो । तर पछिल्ला दिनहरुमा गौतमले जबज अघि आउनुपर्छ भन्ने अडानसहित सांगठनिक विभाग आफ्नो भागमा नभए एकता नहुने भन्दै असन्तुष्टी जनाउन थालेपछि पार्टी एकताको प्रक्रिया अघि बढ्न नसकेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले लोकपथलाई जानकारी दिए ।

जबजको अस्तित्व समाप्त भइसकेको भन्दै समाजवादलाई मुख्य शिद्धान्त मानेर अघि बढ्न तयार भएमा पार्टी एकता गर्न सम्भव हुने अर्यालले बताए । तर वामदेवले भने जबज र एकीकृत समाजवादीले अंगिकार गरेको शिद्धान्तलाई मर्ज गरेर जाने प्रस्ताव गरे, जसकारण पार्टी एकता प्रक्रिया रोकिन पुग्यो ।

एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदर अर्याल

‘सुरुमा हामीले १०औँ राष्ट्रिय महाधिवेशनमा जे कुरा पारित गर्यौँ त्यो कुरा मान्न उहाँ तयार हुनुभयो । तर अहिले उही अस्तित्व सकिएको जबजलाई नै अंगिकार गरेर अघि बढ्नुपर्छ भन्न थालेपछि एकता प्रक्रिया रोकिन पुगेको जस्तो देखियो,’ अर्यालले भने, ‘उहाँ अब जबजसँग एकीकृत समाजवादीले अंगिकार गरेको समाजवलाई मर्ज गरेर लैजाऔँ भन्ने पक्षमा देखिनुहुन्छ । त्यसमा हाम्रो ठूलो विमत्ति छ ।’

त्यस्तै वामदेवले पार्टी एकताका लागि विभिन्न मागहरु अघि सारेका थिए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने व्यवस्थालाई मुख्य एजेण्डा बनाएर लैजानुपर्ने धारणा अघि सारे । तर त्यसमा एकीकृत समाजवादीले सहमती दिएन, अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा नेपाली मौलिक एजेण्डा नहुने भन्दै नेताहरुले असन्तुष्टी जनाएका थिए ।

‘उहाँ मुलुकको नेतृत्व प्रत्यक्ष निर्वाचित कार्यकारीले गर्नुपर्ने व्यवस्था लागु गर्न मुख्य एजेण्डा बनाएर जान पार्टीलाई दबाब सिर्जना गरिरहनुभएको थियो । तर अलिहेको अवस्थामा त्यो नेपाली मौलिक एजेण्डा नभएको हाम्रो ठहर छ । त्यसलाई हामीले अहिले नै धान्न सक्ने अवस्थामा छैनौँ । र पार्टीले त्यस कुरालाई अहिले बोक्न सक्दैन भन्ने धारणा हाम्रो रहेपछि उहाँ नयाँ नयाँ एजेण्डाहरु ल्याइरहनुहुन्छ । अनावश्यक एजेण्डामा हामी सहमत हुन सक्दैनौँ नि !’

यसैबीचमा गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा संगठन विभाग आफूले चलाउन पाउनुपर्ने माग राखेका थिए । उनले आफूलाई संगठन विभागको जिम्मेवारी दिनुपर्छ भन्ने लगायतका मागहरुमा एकीकृत समाजवादीले स्वीकृती नदिएपछि त्यसबाट वामदेव असन्तुष्ट छन् । साथै गौतमले पार्टीमा आएपछि माधव नेपालबाहेक अरुलाई नेता नमान्ने अहमता देखाएपछि उनलाई अहिले नै पार्टीमा भित्र्याउने कुरामा नेताहरु थप रुष्ट बनेका हुन् । साथै कम्युनिष्ट पार्टीमा सामूहिक एकतामा काम गर्नुपर्ने ठाउँमा कुनै नेतालाई मात्रै प्रधान मान्ने प्रवृत्ति स्वीकार नगर्ने पार्टीको निर्णयपछि वामदेवसँग पार्टी एकताको विषयमा थप संकट बनेको अर्यालको दाबी छ ।

‘सायद हिजोदेखिकै उहाँको चरित्र पनि होला, अहिले पनि कहिले माधव नेपाल भन्दा अरुलाई स्वीकार नै गर्दिन भन्ने खालका उहाँका अभिव्यक्तिहरु आइरहेका छन् । व्यक्तिलाई मात्रै प्रमुख मान्ने उहाँको स्वभावले सांगठनिक अराजकतालाई बढवा दिने जस्तो देखियो । केपी शर्मा ओलीको हैकमवाद पार्टीमा लागु भएपछि हामीले एमालेबाटै विद्रोह गर्यौँ । पार्टीमा सांगठनिक अराजकता हाबी भएपछि त्यसको विरुद्ध हाम्रो पार्टी बनेको हुनाले हामी सांगठनिक अराजकता मान्न तयार हुन सक्दैनौँ,’ उनले भने ।

एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले लामो समय जबजका विषयमा मन्थन गर्यो । तर अन्तिममा जबजको औचित्य समाप्त भएको भन्दै एकीकृत समाजवादी त्यसबाट पछि हटेको थियो ।

यता वामदेव भने पुनः एकीकृत समाजवादी जबजलाई प्रवेश गराउन लागिपरेको भन्दै सोही विषयमा नै एकता प्रक्रियाको तगारो बनेको अर्यालको दाबी छ । त्यसो त वामदेव पछिल्ला दिनहरुमा नेकपा एमालेसँग समेत आफ्नो कुराकानी भइरहेको भन्दै आफू एमालेसँग पार्टी एकता गर्न तयार रहेको समेत बताउँदै आइरहेका छन् ।

त्यतिमात्रै होइन अर्को कम्युनिष्ट पार्टी माओवादी केन्द्रसँग समेत वामदेवको उठबस रहेका कारण बेलाबेला वामदेवले एमाले र माओवादी कार्ड प्रयोग गरी एकीकृत समाजवादीसँग बार्गेनिङ पावर बढाइरहेको नेताहरुको आरोप छ । यता अर्याल भने मान्छे विचारशून्य भएपछि जुन विचारसँग पनि मान्छे मिल्न पछि नपर्ने तर्क गर्छन् । नेकपा विभाजन हुँदा वामदेव विचारशून्य जस्तो अवस्थामा रहेका कारण कोही पनि पछि नलागेको बताउँदै उनले भने, ‘उहाँ कहिले एमालेसँग मिल्न सक्छु, कहिले माओवादीसँग पनि मिल्न सक्छु र एससँग त एकता गर्ने तयारीमै हुनुहुन्छ । भनेपछि जुन विचार पनि ठिक भन्ने चरित्र आफ्नो यथेष्ठ विचार नभएपछि निर्माण हुन्छ । सायद उहाँमा पनि त्यही विचारशून्यताको अवस्थामा भएकाले होला एकलाई देखाएर अर्कोसँग बार्गेनिङ गर्ने प्रवृत्ति देखिएको छ ।’

यता वामदेव एकीकृत समाजवादीसँग पार्टी एकता गरेर अघि बढ्ने मार्ग थप अवरुद्ध भएको उनी निकटका नेता डीबी कार्कीको भनाइबाट थप पुष्टि हुन्छ । नेकपा एकता राष्ट्रिय अभियानका महासचिव समेत रहेका कार्कीले एकीकृत समाजावादीसँग मात्र नभएर सम्पूर्ण कम्युनिष्ट पार्टीसँग आफूहरु एकता गर्ने गरी तयारी गरेको लोकपथलाई बताए । उनले एकीकृत समाजवादीसँग पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको समेत दाबी गरे ।

वामदेव गौतम लागयत तपाईहरु अब फेरि एमालेसँग समेत एकताको प्रयास गरिरहनुभएको हो भन्ने लोकपथको प्रश्नमा कार्कीले भने, ‘सम्भावना सबै रहन्छ । हामी एकीकृत समाजवादी मात्रै होइन सबै पार्टीहरु एमाले, माओवादी र एकीकृत समाजवादीलाई समेत एकै ठाउँमा ल्याउन चाहान्छौँ ।’

नेकपा एकता राष्ट्रिय अभियानका महासचिव (डोलबहादुर) डीबी कार्की

आफूहरुको मूल एजेण्डा कम्युनिष्ट पार्टीहरुको एकता रहेको बताउँदै उनले पार्टी एकताका लागि एकीकृत समाजवादीका शीर्ष नेताहरुलाई लिएर एमालेसँग जान एकताका लागि जान सक्ने समेत दाबी गरे ।
‘हामी पार्टीहरुलाई एकीकृत गर्ने अभियानमा छौँ । त्यसो हुनाले एकीकृत समाजवादीका माधव नेपाल र झलनाथ खनाललाई लिएर केपी ओलीसँग समेत जान सक्छौँ ।’

कार्कीको भनाइले वामदेव पार्टी एकताबाट थप पछि परेको प्रष्ट देखिएको छ । कार्कीका अनुसार आफूहरु ०८४ को निर्वाचनसम्म नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने गरी काम गर्ने समेत दाबी गरे ।

‘आगामी ०८४ को निर्वाचनसम्म हामी सबै कम्युनिष्ट पार्टीहरुलाई मिलाएर एक बनाउन सक्छौँ,’ उनले भने ।

केही समय अघि वामदेव नेकपा एमालेमा घुमाउरो बाटोबाट सक्रिय हुने तयारीमा रहेका थिए । एमालेको राजनीतिमा सक्रियता देखाइरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् वामदेव सक्रिय हुन चाहान्थे । तर एमालेकै कतिपय नेताहरु त्यसरी पार्टीमा आउँदा थप बाइपासमा पर्न सक्ने भन्दै बरु मुल नेतृत्वसँगै सहमती गरेर आउन आग्रह गरेका थिए । तर ओलीले त्यसमा कुनै चासो नदेखाएपछि गौतम एकीकृत समाजवादीमा जाने तयारीमा जुटेका थिए । तर एकीकृत समाजवादीमा वामदेवका असीमित मागका कारण थप पार्टी एकीकरणको मार्गमा थप अवरोध सिर्जना भएको हो ।

यो पनि…

वामदेवका उकाली ओराली : एकीकृत समाजवादी ओत लाग्ने चौतारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?