सुकुटेमा प्रचण्डको ‘रिफ्रेसमेन्ट’ : सरकारप्रति गरम, राष्ट्रपति पौडेलप्रति नरम

लोकपथ
357
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलाबेला सिन्धुपाल्चोकको सुकुटेमा पुगिरहन्छन् ।

कहिले पारिवारिक टोलीका साथ त कहिले राजनीतिक नेता कार्यकर्ताहरुसँग प्रचण्ड त्यहाँ पुग्ने गर्छन् । कहिलेकाँही काठमाडौंमा गरमागरम राजनीतिक घटनाक्रमहरु घटिरहेका बेला प्रचण्ड सुकुटे पुगेर रिफ्रेस हुने गर्छन् । अझ भनौँ सिन्धुपाल्चोक पुग्दा प्रचण्ड ‘सुकुटेबिच’ मा बास बस्न प्रचण्ड छुटाउँदैनन् ।

सोमबार साँझबाट प्रचण्ड सिन्धुपाल्चोकमा छन् । सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटनका लागि उनी त्यहाँ पुगेका थिए । प्रचण्डसँगै पूर्व सभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नी सापकोटा, सिन्धुपाल्चोकका संघीय सांसद माधव सापकोटा सुवोध, प्रदेश सांसद सरल सहयात्री लगायतका नेताहरु रहेका छन् ।

सुकुटेमा प्रचण्डसँग माओवादी नेता

कार्यक्रमका लागि पुगेका बेला सुकुटेमा रिफ्रेस हुन पुगेका प्रचण्डले सोमबार नै बाढीपहिरोले क्षतिग्रस्त सडक सञ्जाल र पुलको अवस्थाबारे जानकारी लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई त्यसबारे ध्यानाकर्षण गराए ।

मंगलबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै प्रचण्ड सरकारप्रति खनिए । उनले सरकारको आयु धेरै समय नरहेको बताउँदै मिति तोक्न नसकिने तर आयु धेरै लामो नभएको भन्दै कटाक्ष गरे । साथै अहिलेको सरकार संविधान मिचेर बनेको भन्दै सरकारको स्थायीत्व धेरै नहुने बताए । साथै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि मुख्य सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरु समेत त्यसमा आपत्ति जनाउन थालेपछि सरकार धेरै समय नटिक्ने समेत दाबी गरे ।

‘…यो सरकार टिकिराखोस् भन्ने चाँही होइन । लोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदैन । हामी के चाहन्छौँ भने अप्राकृतिक भएको कारण यो अन्ततः यो ढल्नुनै छ, ढलिनै हाल्छ । हामीले त्यो धेरै बलै गर्न पर्दैन । यसको आयु धेरै छ जस्तो चाँही मलाई लाग्या छैन । मैले मिति त तोक्न सक्ने कुरा पनि होइन र मिल्ने कुरा पनि होइन,’ प्रचण्डले भने, ‘तर नेपाली कांग्रेसभित्रै सरकारभित्र जबरजस्त असन्तुष्टीहरु देखिएका छन् । अहिले जसरी सरकार चल्या छ । झन त्यसले आफ्नो आयु आफैँ छोट्यायो भन्ने लाग्या छ ।’

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको आफू नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि संविधानको धारा ७६ को ३ बमोजिम सरकार बन्नुपर्ने तर त्यसो नभएको उनको धारणा छ । दुई दल मिलेर संविधान मिच्ने काम गरेको भन्दै कटाक्ष गरेका प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलप्रति भने सकारात्मक देखिएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बनाउन चाहेको तर दुई दलले बलजफ्ती गरेर ७६(२) अनुसार सरकार बनाउन लगाएको आरोप लगाए । साथै राष्ट्रपति पौडेलले संविधान अनुसार नै नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई संविधान अनुसार नै प्रधानमन्त्री बनाउन चाहेको तर अत्यधिक दबाबका कारण त्यसो हुन नसकेको बताए ।

राष्ट्रपति पौडेलप्रति नरम हुँदै प्रचण्डले भने, ‘विश्वासको मत प्राप्त गर्न नसकेपछि यो अप्राकृतिक र अपारदर्शी सरकार बन्न नदिने मेरो रणनीति थियो र हुने नै भयो । त्यसकारण अन्तिममा म विश्वासको मतका निम्ति भोटिङमा गएँ । भोटिङमा गएपछि म फेल भएँ । म फेल भएपछि नेपाली कांग्रेसका दलका नेताको नेतृत्वमा सरकार हुनुपर्ने हो, हुनैपथ्र्यो । तर उहाँहरुले संविधान मिच्नुभयो । राष्ट्रपति जी चाँही अन्तिम समयसम्म संविधानको धारा ७३ को उपधारा ३ अनुसार सरकार बनाउन तयार पनि हुनुहुन्थ्यो । तर राष्ट्रपतिजी माथि यस्तो दबाब, यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो भन्ने छ मेरो बुझाइ । अनि उहाँले थाहा पाइपाइ पनि संविधानको धारा ७३ को उपधारा ३ को सरकार बनाउनुभयो ।’

त्यस्तै आफूहरु अहिले सरकार गिराउने र सरकारमा जान कुनै मनसाय नरहेको समेत उनले स्पष्ट पारे । माओवादी अहिले जनतामा रहेको बताउँदै त्यस कुराले थप खुला र रिल्याक्स फिल गराइरहेको उनले बताए ।

‘हाम्रो पार्टीले अहिले नै सरकार गिराउने र सरकारमा जाने भनेर एक्ससाइज गरेका छैनौँ । हामी जनतासँग छौँ । जनताहरुले पनि त्यही चाहिरहेका छन् । हामीले पनि रिल्याक्स गर्याछौँ । मलाई भन्नुहुन्छ भने प्रधानमन्त्री हुन भन्दा अहिले मैले बढी सहज पनि महसुस गरेको छु । जनताको माया, विश्वास र भरोसा बढेको महसुस हुन्छ मलाई,’ उनले भने ।

प्रचण्डले संसद् अधिवेशन नबोलाएकोप्रति कटाक्ष गरे । आफूहरुले विपक्षी दलका तर्फबाट सरकारलाई संसद् बोलाउन आग्रह गरेको तर प्रधानमन्त्री संसद् छलेर अध्यादेशबाट देश चलाउन लागेको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?