काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरूलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ति वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरी स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
छात्रवृत्ति पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरूको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गरेका हुन् । विद्यार्थीले प्राप्त गरेको अंकमा आधारमा मुल्यांकन गरी छात्रवृत्ति वितरण गरिएको छात्रवृत्ति छनौट समितिका संयोजक समेत रहेका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिए ।
कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो ।
हाल अष्ट्रेलियामा रहेका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफूले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ति दिइने छ ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तिले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताए। नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरूलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ति स्थापना गर्न पहल गर्ने जनकारी दिए । उनले कलेजका पूर्वविद्यार्थीहरुसँगै सामाजिक, शैक्षिक व्यक्तित्वहरूले यस्ता छात्रवृत्तिहरू स्थापना गर्दा स्वदेशमै पढ्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने पनि जिकिर गरे ।
कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड-१९ का कारण अनियमित भएको छात्रवृत्ति अब नियमित प्रदान गरिने बताए ।
नेक नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिद्वारा सञ्चालित इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरूमा अध्ययन अध्यापन हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया