काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको बताए ।
उनले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताए । उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताए । उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने बताए ।
उनले भने, ‘हामीले पानी त ख्वायाैँ तर दूषित पानी खुवाइरहेका छौँ । यो त गम्भीर विषय भयो नि । बरु नखुवाउँदै ठिक हुन्छ नि । खानेपानी हामीले ९० प्रतिशत भन्दा माथि जनसंख्यालाई खुवायौँ भनेका छौँ । तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ । जिउँदै मार्ने टाइपको । यो विषय कति गम्भीर छ । शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ । किन १० लाख १५ लाख विद्यार्थी सुरुमा हुन्छ, अन्तिममा पुग्दा माध्यमिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौ धौ । हामी डाटामा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ । क्वान्टिटिमा बढी ध्यान दिने तर क्वालिटीमा छैन ।’
अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्नेकुराले मात्रै नेपाली जनताको मापन गर्ने नभई नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया