काठमाडौंको ठमेलबाट भारतीयले दिनदहाडै गरे चिनियाँको अपहरण (भिडियोसहित)

भिमफेदीको जङ्गल छिरेका ४ भारतीय अपहरणकारी मध्यरातमा पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिक पक्राउ गरेको भन्दै प्रहरीको कन्ट्रोल रुममा माघ १ गते अपराह्न ३ बजे खबर आयो । भारतीय नागरिकले चिनियाँ नागरिक पक्राउ गरेको भन्दै खबर आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालन भयो ।

सुरुमा प्रहरीको कन्ट्रोल रुमले सूचना टिपाउँदा चिनियाँ नागरिक वान जिमिन अपहरणमा परेको सूचना आएको थियो ।
सूचना लगत्तै प्रहरीको दुवै निकायबाट प्रहरी टोली परिचालन भयो । चिनियाँ नागरिक अपहरणमा परेको स्थान थियो ठमेलको नर्सिङ चोक । ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायरबाट चिनिया नागरिक अपहरणमा परेको सूचना आए लगत्तै प्रहरीको टोली अपराह्न ३ बजे होटेलमा पुगेर अनुसन्धान सुरु गर्‍यो । जब प्रहरीको अनुसन्धान सुरु भयो, तब अपहरणमा परेका भनिएका चिनियाँ नागरिक होटेलकै कोठामा भेटिए । बरु अपहरण भएको सत्य भए पनि अर्का चिनियाँ नागरिकको अपहरण भएको पत्ता लाग्यो ।

त्यसपछि सुरु भयो पीडित र अपहरणकारीको खोजी
काठमाडौंबाटै चिनिया नागरिकको अपहरण भएको सूचना आएपछि अपराध महाशाखाबाट डिएसपी अनिल घिमिरेको टोली परिचालित भयो । होटेल आसपासका सिसिटिभी फुटेजको अनुसन्धान सुरु भयो । सिसिटिभी हेर्दा भारतीय नागरिकले एक चिनियाँलाई जबरजस्ती गाडीमा हालेर लैजाँदै गरेको देखियो ।

यस्तो छ अपहरणदेखि पक्राउसम्मको टाइमलाइन

मिति : २०८१ माघ १ गते
समय : अपराह्न १ः२५ बजे
स्थान : नर्सिङ चोक, ठमेल

ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायर बाहिरको एक सिसिटिभी फुटेज हेर्दा सेतो कारमा पाँच जना भारतीय नागरिकले जबरजस्ती एक चिनियाँ नागरिकलाई गाडीमा हालेको देखियो । उक्त स्थानको सिसिटिभी फुटेजमा गाडी नम्बर नखुलेपछि प्रहरीले अन्यत्रको सिसिटिभी अध्ययन गर्‍यो । त्यसपछि खुल्यो अपहरणमा प्रयोग भएको सवारीसाधन भारतीय नम्बर प्लेटको थियो ।

भारतीय नम्बर प्लेट एमएच १६ डीजी ४९०४ नम्बरको कियाको सेरेन्सका कारमा चिनियाँ नागरिकको अपहरण भएको खुल्यो । त्यसपछि उक्त कारको व्यापक खोजी भए पनि काठमाडौंमा उक्त कार कतै देखिएन ।

अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको कार

यता जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी परिचालित भइसकेको थियो । यहीबिचमा अपराध महाशाखाको टोलीले उक्त कार काठमाडौंबाट बाहिरिइसकेको पत्ता लगायो ।

मिति : २०८१ माघ १ गते
समय : अपराह्न १ः४६ बजे
स्थान : फर्पिङ, काठमाडौं

चिनियाँ नागरिक अपहरणमा परेको कारको खोजी गर्दै गर्दा अपराध महाशाखाले उक्त कार फर्पिङबाट बाहिरिइसकेको पत्ता लगायो । घटना भएको २१ मिनेटमा नै उक्त कार फर्पिङ पुगिसकेको देखियो । अपराह्न १ः४६ बजे उक्त कार फर्पिङबाट दक्षिणकाली हुँदै सिस्नेरीतर्फ अगाडि बढेको पाइयो ।

त्यस लगत्तै काठमाडौंबाट अपराध महाशाखाको टोली सोही बाटो अपहरणकारीको खोजी र अपहरितको उद्धारको लागि दौडियो भने जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा नजिकका सबै प्रहरी बिट र कार्यालयहरूलाई जानकारी गराउँदै गाडी रोक्न र उनीहरूलाई नियन्त्रणमा लिन भनियो ।

मिति : २०८१ माघ १ गते
समय : अपराह्न करिब ३ः५० बजे
स्थान : सिस्नेरी, मकवानपुर

सिस्नेरीमा प्रहरीले ब्लकेट राखेर उक्त गाडी रोक्न खोज्यो, तर उक्त गाडी त्यहाँ नरोकी भाग्यो ।

चिनियाँ नागरिकलाई अपहरण गरी भागेका अपहरणकारीको खोजीका लागि प्रहरी परिचालित भएपछि सिस्नेरीमा प्रहरीले ब्लकेट राखेर उक्त गाडी रोक्न खोज्यो । तर उक्त गाडी त्यहाँ नरोकी त्यहाँबाट भाग्यो । सिस्नेरीबाट गाडी भागेपछि त्यसको जानकारी अन्यत्र भयो र भिमफेदीमा अझै ठुलो ब्लकेट राखी प्रहरी परिचालित भयो ।

मिति : २०८१ माघ १ गते
समय : साँझ करिब ५ बजे
स्थान : भिमफेदी, मकवानपुर

सिस्नेरीबाट भागेको करिब १ घण्टा १० मिनेटमा उक्त कार मकवानपुरको भिमफेदी पुग्यो । भिमफेदीमा प्रहरीको तैनाथी र ब्लकेटसमेत देखेपछि अपहरणकारी केही अगाडि नै गाडी रोकेर चिनियाँ नागरिकलाई समेत लिई जङ्गलतर्फ भागे । प्रहरीले तत्कालै कारका चालकलाई नियन्त्रणमा लिएर अपहरित र अपहरणकारीको खोजी सुरु गर्‍यो ।

भिमफेदीको जङ्गलमा प्रहरीको सर्च अपरेसन

मिति : २०८१ माघ १ गते
समय : साँझ करिब ५:३० बजे
स्थान : भिमफेदीको जङ्गल, मकवानपुर

भिमफेदीमा अपहरितलाई सँगै लिएर अपहरणकारीको समूह जङ्गलतर्फ भागेपछि मकवानपुर प्रहरीको टोली जङ्गलतर्फ लग्यो । यता अपराध महाशाखाबाट गएको प्रहरीको टोली पनि भिमफेदी पुगेपछि दुवै टोलीले संयुक्तरुपमा भिमफेदीको जङ्गलमा सर्च अपरेसन चलायो ।

मिति : २०८१ माघ १ गते
समय : साँझ करिब ८ देखि रातको ११ बजे
स्थान : भिमफेदीको जङ्गल, मकवानपुर

चिनियाँ नागरिकलाई सँगै लिएर जङ्गलतर्फ भागेका भारतीयमध्ये एक जनालाई राति करिब ८ बजे जङ्गलबाट नियन्त्रणमा लियो । त्यसपछि पनि व्यापक खोजी गर्दा राति करिब १० बजे थप दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लियो । त्यति बेलासम्म पनि अपहरणमा परेका चिनियाँ नागरिक र अर्का एक भारतीय फेला परेका थिएनन् ।

पूर्वाधार बिनै जङ्गलमा मोबाइलको फ्ल्यास लाइट बालेर खोज्ने क्रममा राति ११ बजे एउटा भिर नजिकै चिनियाँ नागरिक र एक भारतीय नागरिक देखियो । तर प्रहरीलाई देख्ने बित्तिकै चिनियाँ नागरिक र भारतीय नागरिक भिरबाट फाल हाने । भिरबाट फाल हानेका भारतीय नागरिक भिरमै अड्किए भने चिनियाँ नागरिक त्यहाँबाट समेत भागे । अर्को एक घण्टा खोज्दा पनि चिनियाँ नागरिक भने फेला परेनन् ।

मिति : २०८१ माघ २ गते
समय : बिहान १२ः३० बजे
स्थान : फर्पिङ, काठमाडौं

यहीबिचमा एक स्थानीयले चाइनिज जस्तो देखिने मान्छे ट्रक चढेर काठमाडौंतर्फ गएको भन्ने सूचना दिए । त्यसपछि महाशाखाको टोलीले काठमाडौं प्रहरीसँग समन्वय गरेर विभिन्न नाकामा चेकजाँच गर्दा २०८१ साल माघ २ गते बिहानको करिब १२ः३० बजे काठमाडौंको फर्पिङमा ट्रकबाट काठमाडौंतर्फ आइरहेका चिनियाँ नागरिकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उद्धार गर्‍यो । त्यस लगत्तै चिनियाँ नागरिकलाई लिएर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइयो । अपहरणमा परी उद्धार गरिएको चिनियाँ नागरिक थिए, वु हुवान हुवान । यता अपराध महाशाखाको प्रहरीले चार जना भारतीय नागरिकलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्यायो ।

अपहरणमा संलग्न एक जना फरार, यी हुन् पक्राउ परेका चार भारतीय
अपहरणमा संलग्न भारतीय नागरिकको संख्या पाँच जना रहेको भए पनि एक जना भारतीय नागरिक भने बिच बाटोबाटै भागेको पाइएको छ । प्रहरीले सिस्नेरीमा ब्लकेट राखेर रोक्न खोजेपछि गाडीमै रहेका अर्का एक भारतीय नागरिक भने भिमफेदी नपुग्दै बाटैबाट झरेर अर्को गाडीमा भारततर्फ लागेको पाइएको छ ।

पक्राउ परेका भारतीय अपहरणकारीको समूह

अपहरणमा संलग्न रहेकामध्ये सत्रक महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस शेख तथा अहमद नगर पुनेका ३० वर्षीय अमोल खार्माटे र वर्ष ३० कै अम्बादस सिर्सत रहेका छन् ।

चिनियाँबाट स्क्याममा परेपछि अपहरण आशङ्का
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अपहरणमा संलग्न भारतीय नागरिकहरूले दिएको प्रारम्भिक बयानमा चिनियाँहरूले आफूहरूमाथि स्क्याम गरी ठगी गरेपछि रकम उठाउने प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिइएको बताएका छन् । यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको एसएसपी भट्टराईले बताए ।

२ प्रतिशत कमिसनको लोभमा भएको थियो ठगी
चिनियाँ नागरिकको ठगी र स्क्याममा परेका भारतीयहरू २ प्रतिशत कमिसनको लोभमा समस्यामा परेको उनीहरूले प्रारम्भिक बयान दिएका छन् । करिब ३ महिना अगाडि इन्स्टाग्राममा यो गिरोहको विज्ञापन आएको थियो । घरमै बसेर पैसा कमाउन सकिने लोभमा उनीहरू लोभिएको र चिनियाँ गिरोहको सम्पर्कमा पुगेको उनीहरूको प्रारम्भिक बयान छ । प्रारम्भिक कुराकानीमा घरमै बसेर काम गर्न सकिने र कारोबार रकमको २ प्रतिशतसम्म कमिसन पाइने भनिएपछि यी युवाहरू दिल्लीमा रहेको एजेन्टको सम्पर्कमा पुगी त्यसपछि उनीहरूकै सल्लाहमा काठमाडौंमा आएर चिनियाँ नागरिकसँग भेटघाट गरेका थिए ।

भारतीयले दिएका थिए आफ्नो खाता नम्बर र अनलाइन कारोबारको ओटिपि
चिनियाँ नागरिकले २ प्रतिशत कमिसनको लोभ देखाएपछि भारतीय नागरिकहरू करिब ३ महिना अगाडि काठमाडौं आएर आफूहरूको बैंक खाताको विवरण, अनलाइन कारोबारको विवरण र ओटिपि आउने सिमकार्ड लगायतका सबै विवरणहरू दिएर गएका थिए ।

चिनियाँको ठगीमा परेपछि भारतमा उजुरी
आफूहरूको बैंक खाता प्रयोग गरेर चिनियाँ नागरिकले भारतका विभिन्न व्यक्तिसँग स्क्याम गरेर ठगी गरेपछि भारतका विभिन्न स्थानमा उनीहरूमाथि उजुरी पर्‍यो । भारतीय प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा उनीहरूले सबै विवरण बताएपछि भारतीय प्रहरीले उनीहरूलाई केही सर्तमा छाडेको बुझिएको छ ।

आफूहरू समस्यामा पर्ने भएपछि भारतीय नागरिकले चिनियाँलाई नै समात्ने योजना बनाएर नेपाल आएको बुझिएको छ । त्यसपछि उनीहरू चिनियाँ नागरिकसँग राम्रोसँग छलफल गर्ने र रकम माग गर्ने, नभएमा चिनियाँलाई नै अपहरण गरेर भारत पुर्‍याउने योजनाका साथ काठमाडौं आएको पाइएको छ ।

पुस २९ मा नेपाल आएका थिए भारतीयहरू
हाल पक्राउ परेका ४ जना भारतीय नागरिकहरू पुस २९ गते मात्रै काठमाडौं आएको पाइएको छ । उनीहरू पुस २९ मा नेपाल आएर त्यस दिन छलफल गरी दुई जना भारतीय नागरिकहरू होटेल काठमाडौं स्क्वाएरमै बसेका थिए भने अन्य दुई जना भने अन्य होटेलमा बसेका थिए । त्यसको भोलिपल्ट बिहान छलफल गर्दा पनि चिनियाँले रकम नदिने भनेपछि भारतीयले चिनियाँ नागरिकलाई नै अपहरण गरेको बुझिएको छ ।

करिब ५ करोड ठगीको आशङ्का
भारतीयको अपहरणमा परेका चिनियाँ नागरिकले नेपालमा बसेर भारतीयसँग स्क्याम गरी करिब ५ करोड रुपैयाँ ठगी गरेको आशङ्का गरिएको छ । पक्राउ परेका दुई जना भारतीय नागरिकको खाता प्रयोग गरी एक जनाको खाताबाट २ करोड र अर्का एक जनाको खाताबाट एक करोड ५० लाख भारतीय रुपैयाँ बराबरको ठगी गरेको उजुरी रहेको छ । त्यसै गरी अन्य व्यक्तिहरूको खाता समेत प्रयोग गरी कुल ५ करोड रुपैयाँ ठगी गरेको उजुरी भारतमा रहेको पाइएको छ ।

सुरक्षा संवेदनशीलतामा गम्भीर चुनौती, प्रहरीलाई सफलता
काठमाडौंबाट दिउँसै भारतीय नागरिकले चिनियाँको अपहरण गरेपछि यति बेला काठमाडौं प्रहरीको टाउको दुखाई बढाएको छ । यद्यपि समयमै सूचना पाएर समयमै सक्रियता बढाउँदा प्रहरीलाई ठुलो सफलता मिलेको छ । देशकै राजधानीमा भारतीय नागरिक आएर चिनियाँलाई अपहरण गरेको २ घण्टापछि मात्रै प्रहरीले जानकारी पाउनु सुरक्षा सतर्कतामा ठुलो चुनौती हो । यदि नेपालबाट अपहरण गरी भारतसम्म पु¥याएको भए नेपालको सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न आउन सक्थ्यो । यद्यपि नेपाल प्रहरीले समयमै सक्रियता बढाउँदा अपहरितलाई सकुशल उद्धार गर्न सफलता मिली नेपाल प्रहरीको नाक जोगिए पनि यसले विभिन्न प्रश्न भने उब्जाएको छ ।

अपहरित चिनियाँले भने– ‘म त सहयोगी मात्रै हुँ
यसैबिच प्रहरीले उद्धार गरेका चिनियाँ नागरिकले ठगी वा अन्य काममा आफ्नो कुनै संलग्नता नरहेको, आफू केबल एक जागिरे रहेको बयान दिएका छन् । हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका चिनियाँ नागरिक वु हुवान हुवानले आफू छायाँ सेन्टरको दोस्रो तलामा रहेको एक चिनियाँ रेस्टुरेन्टको म्यानेजर रहेको बताएका छन् । आफूलाई थाइल्यान्डमा रहेका एक चिनियाँ नागरिकले भारतबाट मानिसहरू आउँदै छन्, उनीहरूलाई होटेलमा राखिदिनु भनेकाले होटेलमा लगेर राखिदिएको तर उनीहरूले आफूलाई त्यही व्यक्ति भन्ने ठानेर अपहरण गरेको हुनसक्ने बयान दिएका छन् ।

अपहरित चिनियाँ नागरिक वु हुवान हुवान

नेपाली सेना र दूतावासको समेत चासो
काठमाडौंबाटै चिनियाँ नागरिकको अपहरण भएपछि यति बेला राष्ट्रिय सुरक्षाको विषयलाई समेत लिएर नेपाली सेनाले समेत चासो बढाउँदै यस सम्बन्धमा आन्तरिक अनुसन्धान सुरु गरेको पाइएको छ । त्यसै गरी चिनियाँ दूतावासले समेत चासो राख्दै यस घटनाको जानकारी लिई आफ्ना नागरिकको सुरक्षाका सम्बन्धमा चिन्ता जाहेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?