काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका सांसद एवं राज्यमन्त्री अरुण चौधरीविरुद्ध परेको रिट खारेज गरेको छ ।
आज सर्वोच्चको संवैधानिक इजलासले कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीविरुद्ध परेको रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजसालले उक्त रिट खारेज गरिदिएको हो ।
गत निवाचनमा चौधरी आफ्नो अपराध लुकाएर उम्मेदवार भएको भन्दै अधिवक्ता बसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । साथै उक्त रिटमा उनको सांसद पद खारेजीको समेत माग गरिएको थियो । सर्वोच्चले रिट खारेज गरेसँगै उनको सांसद पद समेत जोगिएको छ ।
‘प्रत्यर्थी प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको देखियो । निज अरुणकुमार चौधरीको नेपालको संविधानको धारा ८७ बमोजिम प्रतिनिधि सभा सदस्यका लागि योग्यता नपुगेको वा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्यता रहेको देखियो फैसलामा भनिएको छ ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नरहेको भन्ने नदेखिएको स्थितिमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको मनोनयन पत्रमा जानी–जानी झुटो विवरण पेस गरेको भए सो विषयको उजुरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृतसमक्ष वा ऐ. ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया