अझै खुल्न सक्दैनन् एचआइभी संक्रमित

लोकपथ
252
Shares

काठमाडौं । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट संक्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । 

स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी संक्रमित हुँदा कास्कीमा सात सय र स्याङ्जामा चार सय ८१ संक्रमित छन् । तेस्रोमा तनहुँमा संक्रमित संख्यामा छ । यहाँ भएका संक्रमितमध्ये दुई सय ६२ जनाले दमौली अस्पतालबाट एआरटी औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । अन्य जिल्ला घर भएका ३२ जनाले पनि दमौली अस्पतालबाट एआरटी औषधि सेवन गरिरहेको उनले बताए ।

सामाजिक लाञ्छना र तिरस्कारको भयका कारण कतिपय संक्रमित अझै खुल्न सकेका छैनन् । कतिपयले दमौली अस्पतालमा नआई अन्यत्र गएर औषधि सेवन गर्ने गरेको अधिकारीको भनाइ छ  

एचआइभी संक्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि संक्रमित खुल्न डराउने गरेको बताए । ‘समाजले गर्ने अवहेलनाका कारण एचआइभी संक्रमित खुलेर बाहिर आउन सकेका छैनन्,’ उनले भने, ‘संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ । नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआइभी सङ्क्रमित त्रासमा छन् । कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?