हेटौँडा सिमेन्ट उद्योग चरम आर्थिक संकटमा, तीन महिनादेखि उत्पादन ठप्प

लोकपथ
14
Shares

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन,’ हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो । अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ ।’

त्यस्तै उनले उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीहरुको तलब भत्ता दिने गरेको बताए ।

‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ,’ ‘यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो,’ उनले भने ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ ।

‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ,’ उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’

त्यस्तै आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थप्रिएको छ ।

‘विद्युत् उपभोग त गर्‍यो तर महसुल बुझाउन सकिएनौँ,’ उनले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०–४० करोड जति बक्यौता बाँकी छ होला,’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको भनाइ रहेको छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?