काठमाडौं । सिक्टा सिँचाई आयोजनामा भएको भ्रष्टाचारबारे विशेष अदालतबाट सफाइ पाएका पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेको मुद्दा पुनरावेदन गर्न सर्वोच्चले निस्सा प्रदान गरेको छ ।
विशेष अदालतको फैसलामा प्रमाणको उचित मूल्यांकन नगरी सफाई दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनको निस्सा माग गरी सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेषले सफाइ दिँदा प्रमाणको उचित मूल्यांकन नगरेको भन्दै मुद्दाको पुनरावेदन गर्न निस्सा प्रदान गरिएको हो ।
सर्वोच्चले पुनरावेदनका लागि निस्सा प्रदान गरेसँगै सिक्टा सिञ्चाई आयोजनामा भएको भ्रष्टाचारका सम्बन्धमा पुनः मुद्दा चल्ने भएको हो ।
सिक्टा सिञ्चाई आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मन्त्री विक्रम पाण्डेसहितका प्रतिवादीहरुलाई विशेष अदालतले २०७९ असार ५ गते सफाइ दिएको थियो ।
विशेष अदालतले सफाइ दिई फैसला गरेको मितिले करिब २ वर्ष र पूर्णपाठ सार्वजनिक भएको केही समयपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनको निस्सा माग गर्दै सर्वोच्च अदालत पुगेको थियो । उक्त पुनरावेदनको निवेदनमा निस्सा प्रदान गर्दै सर्वोच्चले उक्त फैसलामा प्रमाणको उचित मूल्यांकन नभएको र फैसलामा फरक पर्न सक्ने भन्दै विचारणीय रहेकाले पुनरावेदनको निस्सा दिएको हो ।
हेर्नुहोस् सर्वोच्चले पुनरावेदन गर्न निस्सा दिएको आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया