पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

लोकपथ
140
Shares

इस्लामावाद । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।’खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा आफूलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गर्दै आएका छन् । उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?