‘नेपाली प्राविधिज्ञ विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम छन्’

लोकपथ
21
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताएका छन् ।  

पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनीयर विद्यार्थी समाज (सेस) ले आजदेखि सुरु गरेको सिभिल इञ्जिनियरिङ प्रदर्शनी ‘आधार’ को उद्घाटन गर्दै उनले विश्वका नवीन प्रविधि र अनुसन्धानमा नेपाली प्राविधिक तथा प्राविधिज्ञहरूले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको बताए । मन्त्री दाहालले नेपाली प्राविधिकको ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियासमेत सुरु भइसकेको बताए । 

उनले नेपालमा पूर्वाधार र विकास निर्माणका काममा नेपाली इञ्जिनियर र प्राविधिकहरूको भूमिका सराहनीय रहेको उल्लेख गरे । ‘नेपाल अहिले निर्माणको चरणमा छ । नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था छैन । सिकेको ज्ञान र सीपबाट नेपालकै समृद्धिका लागि योगदान गर्न सकिने आधार बनिरहेको छ,‘ मन्त्री दाहालले भने,‘नेपाली प्राविधिक तथा वैज्ञानिकहरूले भू–उपग्रह प्रक्षेपणदेखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेका छन् । युवाको ज्ञान, सीप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिइरहेको छ ।’ 

त्यस क्रममा उनले विद्यार्थीद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनी स्टलको अवलोकनसमेत गरेका थिए। सेसका अध्यक्ष दिवस पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको १५औँ संस्करण तीन दिनसम्म चल्नेछ । प्रदर्शनी एवं प्रतियोगितामा विभिन्न ६० वटा प्रदर्शनी कक्षमा विद्यार्थीले सिर्जना गरेका सिभिल इञ्जिनियरिङ क्षेत्रका विभिन्न नमुना समावेश रहेको कार्यक्रमका संयोजक राहुल दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?