काठमाडौं । ५ दशक लामो राजनीतिक जीवन बिताएका डा. भीम रावल अन्ततः पार्टीबाटै निकालिनुप¥यो । विभिन्न कालखण्ड पार गर्दै आफैँले निर्माण गरेको नेकपा एमालेले उनलाई साधारण सदस्यसमेत राखेन । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली चलिरहेका बेला त्यसको विरोध गर्ने रावल ओली र एमालेको निशानामा परे ।
पार्टीको विरोध गरेको भन्दै स्पष्टीकरण सोधियो, उनले स्पष्टीकरण नै बुझाएनन् । अन्ततः एमालेले उनलाई निष्कासन गरेपछि अहिले रावल मातृभूमि जागरण अभियान, नेपालको नामबाट राजनीतिको नयाँ धारबाट उदाउने जमर्को गरिरहेका छन् ।
रावलले आफ्नो राजनीतिक भविष्यबारे जानकारी दिन गत पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरे । एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्न ३०औँ पृष्ठ खर्च गरे । तर उनले आफ्नो आगामी योजनाबारे भने बल्लतल्ल केही पेज भरेका थिए, जुन पत्रकार सम्मेलनबाट सार्वजनिक गरे । मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र सबै देशभक्त शक्तिहरूलाई एक बनाउने बाहेक कुनै योजना नसुनाएका रावलले बिहीबार आफ्नो अभियानबारे थोरै खुलाएका छन् ।
रावलले अभियानको उद्देश्य र अभियान सञ्चालनबारे थोरबहुत जानकारी गराएका छन् । ‘मातृभूमि जागरण अभियान, नेपाल’ नाम दिइएको उक्त अभियानको नारा, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झन्डा उठाऔँ, मनपरीतन्त्र, कुशासन, भ्रष्ट्राचार र विकृतिका विरुद्ध जुटौँ’ राखिएको छ ।
रावलले पार्टी संगठन निर्माण कसरी गर्ने भन्ने विषय खुलाएका छन् । त्यसमा उनले संगठनको स्वरूप सबैभन्दा धेरै मानिसहरूलाई समेट्ने गरी बनाउने बताएका छन् । साथै जुन तहको संगठन निर्माण गर्ने हो त्यही तहको नामकरण मातृभूमि जागरण अभियान अगाडि राखेर सम्बन्धित तहको नाम राख्नेछन् र त्यस्तो समितिमा एक जना संयोजक र एक जना सदस्यसचिव रहने र अन्य सबै सदस्यहरू रहनेछन् ।
‘संगठनको स्वरूप धेरै भन्दा धेरै मानिसहरूलाई समेट्ने किसिमले बनाउने । यसको नामकरण मातृभूमि जागरण अभियान अगाडि राखेर सम्बन्धित तहको नाम उल्लेख गरेर तदर्थ समिति भन्ने । समितिमा एक जना संयोजक र एक जना सदस्यसचिव राख्ने तथा अरू सबै सदस्य रहने,’ उनले अभियानको संक्षिप्त जानकारी दिँदै भनेका छन् ।
रावलको अभियानको तदर्थ समितिको संख्या १५ देखि २५ जनासम्मको हुनेछ । यसभन्दा बढी मानिसलाई समेट्नुपर्ने भएमा सम्बन्धित तदर्थ परिषद् गठन गर्ने बताइएको छ ।
आफ्नो अभियान वडा, पालिका, जिल्ला र प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने र जुन तहको भेला गरिन्छ सोही तहको संगठन निर्माण गर्ने बताएका छन् ।
एमालेले पार्टीबाट निष्कासन गरेपछि केही दिन नयाँ राजनीतिको ‘होमवर्क’ गरेका रावल त्यसपछि भने देश दौडाहामा लागे । पहिलेदेखि नै राष्ट्रवादी छवि बनाएका कारण पार्टीको कारबाहीमा परेपछि रावलमाथि सबै दलको सहानुभूति थियो । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा पुग्दा उनले भेट्न आएका जति सबै मान्छेहरूसँग भेट गरे । त्यसमा राजावादी, पूर्व राजावादी, के कम्युनिस्ट, के गैरकम्युनिस्ट उनले भेट्न भ्याए र चाहे जतिलाई भेटे । पूर्व जाँदा उनले केही राजावादीहरूलाई समेत भेटेको र राप्रपासँग समेत पार्टी मिलाउन लागेको हो कि भन्ने हल्लासमेत चलेको थियो ।
रावल अहिले आफ्नो अभियानलाई थप राष्ट्रवादी बनाउने होडमा छन् । जसकारण रावलले नयाँ उदाएका दलदेखि पात्रसम्म आफू सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यको हात अघि बढाएका छन् । संसद्देखि विभिन्न बाहिरी सार्वजनिक मञ्चसम्म राष्ट्रवादलाई मुख्य केन्द्रमा राखेर भाषण गरेर राष्ट्रवादी छवि बनाएका रावलले अन्य पुराना दलसँग दिक्किएका खासगरी देश बाहिर रहेका नेपालीहरूको समर्थन जुटाउने प्रयास गरेका छन् । अभियानको संक्षिप्त परिचय खण्डमा उनले पत्रकार सम्मेलनकै जस्तो विरोधी शैलीको पुनरावृत्ति गरेका छन् ।
साथै सबै दल र नेताहरूले गर्ने र भन्ने गरेको जस्तो आफू ‘पानीमाथिको ओभाने’ र अरू सबै भिजेको देख्ने प्रवृत्ति देखाएका छन् । लामो समय नेपाली राजनीतिको केन्द्रमा रहेका रावल पटक पटक मुलुकको सर्वोच्च पदमा पुगे । तर अन्तिममा जुन पार्टीमा संघर्ष गरे त्यही पार्टीबाट निष्कासित हुनु परेपछि पुराना दलका मान्छेबाट नयाँ आवरणको पार्टी बनाउने अभियानमा छन् । आलोचना गर्नेहरूले उनलाई ‘पुरानो कोटको नयाँ खल्ती’ को संज्ञा दिने गरेका छन् ।
‘…स्वदेश र प्रवासमा रहनुभएका सम्पूर्ण इमानदार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गरिएको छ । यसका सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरूको सहभागिता समर्थन र सहयोगको अपेक्षा गरिएको छ,’ रावलले आफ्नो दलको संक्षिप्त परिचय गराउँदै भनेका छन् ।
कुन सिद्धान्त अंगिकार गर्छन् रावल ?
त्यस्तै रावलले पार्टी एकता अभियान घोषणा गर्नुअघि कम्युनिस्ट पार्टीबाट विश्राम लिएर गैरकम्युनिस्ट पार्टी निर्माण गर्ने चर्चा थियो । तर पत्रकार सम्मेलनमा पनि उनले कुन धारको पार्टी बनाउने भन्ने स्पष्ट खुलाएनन् । उनले वैकल्पिक राजनीतिलाई प्रोत्साहन गर्दै वैकल्पिक राजनीतिमा इच्छा राख्नेहरूलाई अटाउने जमर्कोमा देखिएका छन् ।
तर बिहीबार सार्वजनिक पार्टीको संक्षिप्त परिचयमा समेत उनले कुनै संकेत गरेका छैनन् । त्यसो त पत्रकार सम्मेलनकै दिन नेपाली कांग्रेस छाडेर बीपी कांग्रेसको उपसभापति बनेका कर्ण मल्ल रावलको कार्यक्रममा पुगेका थिए । दुई दलबीच मोटामोटी एकता गर्ने तयारी भइरहेको छ । जसकारण पनि रावलले गैर कम्युनिस्ट पार्टी निर्माण गरेर राजावादीदेखि विभिन्न शक्तिहरूलाई एक बनाउने जोड दिएका छन् । त्यसो त उनले स्वतन्त्रबाट मेयर बनेका हर्क साम्पाङ, गोपी हमाल र बालेनहरुको साथ खोजेका छन् । अन्य वैकल्पिक राजनीतिको वकालत गर्नेहरूलाई समेट्ने उनको तयारी रहेको छ ।
चन्दाबाट पार्टी चलाउने
रावलले पार्टी निर्माण र सञ्चालनमा भने मितव्ययिता अपनाउने नीति लिएका छन् । संक्षिप्त परिचय खण्डमा रावलले स्वदेश तथा विदेशबाट चन्दा संकलन गरेर पार्टी सञ्चालन गर्ने र त्यसको हिसाबकिताब पारदर्शी ढंगले बाहिर सार्वजनिक गर्ने बताएका छन् ।
‘स्वदेश तथा प्रवासमा रहनुभएका शुभेच्छुक, समर्थक र मातृभूमि जागरण अभियान नेपालमा संगठित व्यक्तिहरूबाट स्वैच्छिक रूपमा प्राप्त चन्दाद्वारा आर्थिक व्यवस्थापन गर्ने । प्राप्त रकमलाई पारदर्शी र व्यवस्थित गर्नका लागि संगठन/दल दर्ता नहुँदासम्म संयोजक र सदस्य सचिवको नाममा बैंक खाता खोली चलाउने,’ रावलद्वारा जारी संक्षिप्त परिचय खण्डमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया