‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गरौँ’

लोकपथ
42
Shares

काठमाडौं । घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार र शुक्रबार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनीहरूले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवर्द्धन गर्न नसके बागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताए । उनले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवर्द्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताए । 

कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरू हेटौँडा पुगेको बताए । उनले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे । उनले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औँल्याए । हेटौंडालाई नमुना शहरको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?