काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक ९डीआईजी० छविलाल जोशी जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एक सातापछि आज आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
काठमाडौं जिल्ला अदालतमा दायर स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसका लागि उनी आफै अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्ध सरकारी वकिलको कार्यालयले ५ लाख ७८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । सहकारी ठगीसँगै उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दर्ता भएको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान गराइँदैछ । बयान सकिनासाथ थुनछेक वहस सुरु हुनेछ । जिल्ला अदालतमा उनीमाथि पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने ६० लाख रुपैयाँ धरौटी तिरेर रिहा भइसकेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछाने र जोशी जिल्ला अदालत कास्कीबाट पनि धरौटी रकम तिरेर एकै दिन रिहा भएका थिए ।
लामिछाने पोखराबाट काठमाडौं आउने बितिक्कै जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए भने जोशी भने एक सातापछि हाजिर भएका हुन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीमा जोशीलाई ८८ लाख र लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया