काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सामाजिक सञ्जालमा लेखेको विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् ।
शनिबार राति लामिछानेले आफ्नो आधिकारीक फेसबुकमा आफ्नो तस्बिरसहित सबैलाई धन्यवाद दिएका छन् ।
सन्दीपले आफूलाई अभूतपूर्व माया दिएर सबैले सहयोग गरेको भन्दै एकाएक धन्यवाद ज्ञापन गरिनुले कतै उनले सन्यास लिन लागेका त होइनन् भन्ने आशंका समेत व्यक्त भइरहेका छन् ।
आफ्नो खेल जीवनमा आम दर्शक र नेपालीहरुले दिएको साथ आफ्नो हृदयमा सधैँ रहने बताउँदै आफूले माया र समर्थन शब्दमा व्यक्त गर्न नसकेको समेत बताएका छन् ।
‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन् । तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु,’ उनले भनेका छन् ।
लामिछाने सानै उमेरमा नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल थोरै नेपाली खेलाडी मध्ये पर्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती कमाएका उनीमाथि केही समय अघि बलात्कार जस्तो जघन्य आरोप लागेको थियो । यद्यपि अदालतले भने उनलाई सफाइ दिइसकेको छ ।
त्यसपछि पुनः लयमा फर्किएका लामिछानेले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरको कप्तानी गरेका थिए ।
उनीमाथिको आरोपछि पुनः खेल जीवनको लयमा फर्किन लागेका लामिछानेको एकाएक आएको स्ट्याटसले सबैलाई सशंकित बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया