काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले विरोध जनाएका छन् । आइतबार नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाए । काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।
सोही विषयमा कानून व्यवसायीहरुले कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूति गर्न दबाब स्वरूप विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरूमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानुनी दायरा फराकिलो बनाउनुपर्ने माग गरे ।
लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए । यसमा अदालत पनि गम्भीर हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताए । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रूपले लिनुपर्ने बताए ।
जमात मिलेर न्यायलाई दुत्कार्ने कोशिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनै पनि पक्षको लागि उचित नहुने बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताए । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताए ।
कानून व्यवसायीहरुले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताए । यस्ता किसिमका गतिविधिहरू गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । त्रिपाठीमाथिको हातपात सिंगो कानून व्यवसायीहरूमाथिको हातपात भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया