काठमाडौं । संघीय संसद्को संयुक्त समितिले राष्ट्रिय आवश्यकताअनुरूप नागरिकहरूलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिले मुख्यसचिव एकनारायण अर्यालमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो ।
बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले राज्यका नीतिअनुसार गरेको काम र उपलब्धिहरू वार्षिक प्रतिवेदनमा नसमेटिएको बताए । उनले २०७९/८० को वार्षिक प्रतिवेदनमा जातजाति र भाषाभाषीबीच पारस्परिक सम्बन्ध बिस्तार गर्ने, राष्ट्रिय आवश्यकताअनुरूप नागरिकहरूलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने तथा पूर्वकर्मचारी, सैनिक लगायतका पूर्वराष्ट्र सेवकहरुमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा समुचित उपयोग गर्ने विषय नसमेटिएको उल्लेख गरे । उनले अब बन्ने प्रतिवेदनमा यी विषयहरूमा गरिएका काम र प्राप्त उपलब्धि उल्लेख गर्न निर्देशन समेत दिए ।
बैठकमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले राज्यका सिद्धान्त नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि समिति अझै सक्रिय हुनुपर्ने बताए । उनले नीति तथा सिद्धान्त नै राज्यको सञ्चालक भएको उल्लेख गर्दै यसको कार्यान्वयन भए/नभएको अनुगमन समितिले गर्नुपर्ने जिकिर गरे । उनले संघीय संसद्को संयुक्त समिति भएको हिसाबले प्रतिनिधि सभा र राष्ट्रिय सभासँग समान रूपमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
बैठकमा आइतबार नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया