दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा ४.६२ प्रतिशतले घट्यो

लोकपथ
42
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा ४.६२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्दा यो आर्थिक वर्षमा भने २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ ।

चालु वर्षमा पुस मसान्तसम्म नौ वाणिज्य बैंकको नाफा घट्दा ११ वाणिज्य बैंकको भने बढेको छ ।

यो अवधिमा सर्वाधिक नाफा वृद्धि प्रतिशतका आधारमा प्रभु बैंकले गरेको छ । यो बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा प्रभु बैंकले नाफा बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पुर्‍याएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ५७.१८ प्रतिशतले बढाएर नाफा २ अर्ब ८३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ ।

नबिल बैंकले भने गत वर्षको तुलनामा उल्लेख्य नाफा वृद्धि गर्न सकेन । गत वर्षको तुलनामा यो वर्षको पुस मसान्तसम्ममा नविल बैंकले नाफामा १.२९ प्रतिशत मात्रै बृद्धि गर्न सफल बनेको हो । चालु आवको पुस मसान्तसम्म यो बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ छ । नाफामा सामान्यमात्रै वृद्धि गरेको बैंकले यो पटक पनि सर्वाधिक कमाउनेमा पहिलो नम्बरमा रहेको हो ।
एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी घटेको छ । यो बैंकको नाफा पुस मसान्तसम्म ९२.०३ प्रतिशतले घटेको छ । यो बैंकले गत वर्षको पुससम्म एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

कुमारी बैंकको नाफा पनि घटेको छ । यो बैंकले गत वर्षको पुस मसान्तसम्म ६८ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्षको सोही समयभित्र २७ करोड ५७ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । यो भनेको ६८.२० प्रतिशतले कमी हो ।
बैंकहरूको खराब कर्जा बढ्दै गएकाले नाफामा कमी देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?