काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक युवकलाई कुटपिट गर्ने सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको खुलेको छ । उनी बसेनी अस्थायी प्रहरी बिटका प्रमुख समेत हुन् ।
भिडियो सार्वजनिक भएपछि भएको अनुसन्धानमा सो घटना भरतपुर महानगरपालिका–११, बसेनीको भएको खुलेको हो । यो घटना गत पुस १५ गतेको भएपनि भिडियो धेरै समयपछि मात्रै सार्वजनिक भएको हो ।
यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भइरहेको छ । प्रहरीले रातको बेला मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै ती युवकलाई निर्घात कुटपिट गरेको देखिन्छ ।
युवकमाथि कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक भुजेल यतिसम्म आक्रोशित बनेको देखिन्छन् कि, ती युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हान्दा पनि उनको रिस मरेको देखिँदैन । निरन्तर बुट बजारिएपछि ती युवक भाग्न खोज्छन् । तर फेरि उनी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । त्यसपछि पनि गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।
चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले भिडियो भरतपुर महानगरपालिका–११, बसेनीको भएको र सो घटनामा संलग्न प्रहरी सहायक निरीक्षक भुजेललाई निलम्बन गर्न प्रक्रिया थालिसकेको बताए । प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बनको प्रक्रिया थालिएको उनले बताए ।
यो घटनालाई लिएर प्रहरीले छानबिन समितिसमेत गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
डीएसपी महतोका अनुसार पुस १५ गते भरतपुरको वडा नम्बर ११ को गणेशस्थान अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक भुजेल ड्यूटीमा रहेका थिए । राति करिब सवा १० बजेतिर एक स्कुटरसहित ४ वटा मोटरसाइकलमा युवाहरू हुइँकिँदै आए । प्रहरीले रोकेर अनुसन्धान गर्दा सो घटना भएको खुलेको छ ।
मोटरसाइकलमा आएकाहरु सबैले मादक पदार्थ सेवन गरेर आएकाले उनीहरू भागेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएका युवाले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो तहकालाई फोन गर्न लागेपछि ड्यूटीमा रहेका प्रसनि भुजेलले लात्तीले युवकलाई कुटेको खुलेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा प्रहरीले युवालाई कुट्नु गलत भएको चितवन प्रहरीले स्वीकार गरेको छ ।
यो पनि…
प्रहरीद्वारा सडकमै सर्वसाधारणमाथि निर्मम कुटपिट, छानबिन समिति गठन (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया