इन्टरमिटेन्ट फास्टिङ : कसले गर्ने, कसरी गर्ने ?

काठमाडौं । उपवास अर्थात् व्रत हामी सबैले धेरै सुनिरहेको शब्द हो । व्रत बस्ने चलन धेरै पहिलेदेखि नै चलिआएको चलन पनि हो । पहिले धार्मिक आस्थाले गर्दा मानिसहरू उपवास बस्ने गर्थे भने अहिले शरीरको तौल घटाउन र स्वस्थ रहनका लागि उपवास बस्ने गर्छन् । यही उपवास मध्य इन्टरमिटेन्ट फास्टिङ यति बेला लोकप्रिय बन्न थालेको छ ।

इन्टरमिटेन्ट फास्टिङ भनेको एउटा निश्चित समय अवधि भित्र खाने र लामो समय नखाने उपवास हो । जसमा अघिल्लो दिनको अन्तिम खाना र अर्को दिनको पहिलो खानामा धेरै समयको अन्तर रहने गर्छ । यही समय तालिका अनुसार चक्र दोहोर्‍याउने खानपान विधि नै इन्टरमिटेन्ट फास्टिङ विधि हो ।

यही इन्टरमिटेन्ट फास्टिङ पनि हामीले धेरै तरिकाले राख्न सक्छौँ । जसमा १६–८ विधि, यो विधिमा दिनमा १६ घण्टा उपवास गरेर ८ घण्टा भित्र खाने हो । यसमा सामान्यतया बिहानको खाजा छोडेर दिउँसोदेखि राति ८ बजेसम्म खाना खाने र भोलिको १२ बजे सम्म केही नखाने गरिन्छ । यस बिच पानी, कफी र कागती पानी मात्र भने पिउन सकिन्छ । यसबाहेक कुनै पनि खानेकुरा खानाले वा पिउनाले इन्सुलिन स्पाइक हुन्छ र व्रत तोड्छ ।

अर्को ५ः२ विधि यसमा ४८ घण्टाको लामो उपवास राख्नुपर्ने हुन्छ । यसको मतलब हामीले हप्तामा पाँच दिन मात्रै खाना खाने र बाँकी दुई दिन पूर्ण उपवास बस्ने हो ।

त्यस्तै इट स्टप इट विधि । यस विधिलाई हामी वैकल्पिक दिन उपवास पनि भन्ने गर्छौ । यसमा २४ घण्टा उपवास बस्ने गरिन्छ । जस्तै यदि हामीले आज दिउँसो १२ बजे बेलुकाको खाना खायौँ भने, अर्को दिन दिउँसो १२ बजे मात्र खाने गरिन्छ । यसरी हामीले २४ घण्टा उपवासको अवस्थामा बस्नुपर्ने हुन्छ । यसबाहेक केही कोहीले यसरी नै ३६ घण्टाको उपवास पनि बस्ने गर्छन् । यही इन्टरमिटेन्ट फास्टिङ कस्तो फास्टिङ हो, यो कस्ता व्यक्तिले गर्ने, यसका फाइदा र बेफाइदाका बारेमा हामीले नेपाल मेडिसिटी अस्पतालकी पोषणविद् डा. रुजु खड्कासँग कुराकानी गरेका छौँ ।

इन्टरमिटेन्ट फास्टिङ कस्तो फास्टिङ हो ?
इन्टरमिटेन्ट फास्टिङ वा आइएफ प्राक्टिसलाई हामी छोटो अवधिको फास्टिङ पनि भन्छौँ । जस्तो १६ घण्टाको फास्टिङ राख्यौ भने ८ घण्टाको समयमा मात्र खाने नै इन्टरमिटेन्ट फास्टिङ हो । यसलाई हामीले १६ र १४ घण्टाको पनि राख्न सक्छौँ । इन्टरमिटेन्ट फास्टिङको पनि विभिन्न विधि हुन्छन् । त्यस मध्यमा अहिले धेरै प्रचलित १६–८ घण्टाको इन्टरमिटेन्ट फास्टिङ विधि हो ।

इन्टरमिटेन्ट फास्टिङ राख्दा खाने वा नखाने मात्रै होइन, फास्टिङ पिरियडमा केके नखाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

इन्टरमिटेन्ट फास्टिङका फाइदा
इन्टरमिटेन्ट फास्टिङ शरीरका लागि निकै राम्रो कुरा हो ।तर इन्टरमिटेन्ट फास्टिङ कस्ता व्यक्ति, कुन उमेर समूह र कसको सल्लाहमा गरिरहेका छौँ, त्यो भने महत्त्वपूर्ण हुन्छ । त्यसैले इन्टरमिटेन्ट फास्टिङ गर्दा पोषणविद्को सल्लाह अनुसार गर्नुपर्छ । यसरी गरिएको इन्टरमिटेन्ट फास्टिङबाट हामीले अझ धेरै फाइदा लिन सक्छौँ । इन्टरमिटेन्ट फास्टिङको पहिलो फाइदा भनेको नै शरीरको फ्याट बर्न गरेर शरीरको तौल घटाउन मद्दत गर्नु हो । यसका साथै इन्सुलिन रेजिटेन्स र फ्याटी लिभर भएका व्यक्तिहरूले इन्टरमिटेन्ट फास्टिङ राख्दा फाइदा पुग्नेगर्छ ।

इन्टरमिटेन्ट फास्टिङ राख्दा ध्यान दिनुपर्ने कुराहरू
कतिपयले इन्टरमिटेन्ट फास्टिङ राख्दा मफास्टिङ पिरियडमा छु भनेर १६ घण्टा नखाने तर ८ घण्टाको समय अवधिमा भने जे पनि खाने गर्छन् । यस्तो गर्दा हामीलाई फाइदा भन्दा बेफाइदा हुन जान्छ ।

हामीले फास्टिङको पिरियड राखिसकेपछि फास्टिङ के बाट तोड्दै छौँ भन्ने कुरा ध्यान दिनुपर्छ । फास्टिङ तोड्दा फाइबरयुक्त खानेकुरा खाएर मात्र तोड्नुपर्छ । बाहिरको गुलियो, डिप फ्राइ र रिफाइन्ड कुराहरू खाएर तोड्नु हुँदैन, यसमा हामीले विशेष ध्यान दिनुपर्छ । त्यसैले इन्टरमिटेन्ट फास्टिङ राख्दा खाने वा नखाने मात्रै होइन, फास्टिङ पिरियडमा केके नखाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

इन्टरमिटेन्ट फास्टिङ आफूखुसी राख्नु कत्तिको सही ?
इन्टरमिटेन्ट फास्टिङ आफू खुसी गर्नु राम्रो होइन । यसले हाम्रो शरीरलाई फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना धेरै हुन्छ । झन् इन्टरमिटेन्ट फास्टिङ राख्दा तपाई कुन उमेरको हुनुहुन्छ त्यसले पनि फरक पार्ने गर्छ । मधुमेह र मिर्गौलाका बिरामीले इन्टरमिटेन्ट फास्टिङ गर्न मिल्दैन । कसैलाई ग्यास्ट्रिकको समस्या छ भने त्यस्ता व्यक्तिहरूले पनि गर्नु हुँदैन । त्यस्ता व्यक्तिहरूले पोषणविद्को परामर्श लिएर मात्रै यस्तो फास्टिङ गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?