पर्साका न्यायाधीश भन्छन्- ‘हामी प्रत्येक दिन बेचिएका छौँ’

न्यायपालिकामा जनआस्था अभिवृद्धिका लागि सञ्चारमाध्यमको भूमिका विषयक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पटक पटक भने, ‘हामी कसरी काम गरिरहेका छौँ भन्ने बुझ्नका लागि एकपटक तराई मधेसका जिल्लामा पुगेर पनि रिपोर्टिङ गरिदिनुहोस् । ‘

प्रधानन्यायाधीशको आशय थियो, तराई मधेसमा न पूर्वाधार छ, न जनशक्ति । यतिसम्मकी काम गर्नका लागि कम्प्युटर समेत पालैपालो चलाउनुपर्ने अवस्था छ, अनि कसरी समयमै न्याय दिन सकिन्छ भन्ने उनको भनाइ थियो । प्रधानन्यायाधीशले पटक पटक एउटै कुरा दोहोराएपछि प्रधानन्यायाधीश र सर्वोच्च अदालतसँगै कुरा गरेर पुस १५ गतेदेखि दुई साताका लागि मधेसका चार जिल्ला बारा, पर्सा, रौतहट र सर्लाही जिल्ला अदालतमा अदालती काम कारबाहीका सम्बन्धमा रिपोर्टिङ गर्न पुगियो । त्यही रिपोर्टिङका सिलसिलामा मधेसका यी अदालतहरूमा देखिएका अवस्थालाई पालैपालो प्रस्तुत गर्दै छौँ ।

पुसको १८ गते पर्सा जिल्ला अदालतकै सक्रियतामा जिल्ला अदालतमा हुनसक्ने र भइरहेको विकृति र विसङ्गति रोक्नका लागि भन्दै एउटा समिति बन्यो । पहिलो समिति थियो, ‘पर्सा जिल्ला अदालतमा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाहरूको पहिचान र रोकथाम गर्न सुझाव दिने समिति ।’

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश (एक नम्बर न्यायाधीश) दीपक खनालकै सक्रियतामा यो समिति गठन गर्नुपर्नाको कारण थियो, पर्सा जिल्लामा मुद्दाको किनबेच हुनु र बिचौलियाको बिगबिगी बढ्नु ।

पुस १८ गते गठन गरिएको समितिले त्यसको एक सातापछि नै काम सुरु गर्‍यो । वरिष्ठ अधिवक्ता दीपकराज भण्डारी संयोजक रहने गरी गठन गरिएको बिचौलिया पहिचान समितिमा पर्सा जिल्ला अदालत बारका अध्यक्ष कमलमोहन पोखरेल सदस्यसचिव रहने गरी गठन भएको छ र यो समितिले काम सुरु गरिसकेको छ ।

यसरी समिति नै गठन गरेर बिचौलियाको पहिचान र नियन्त्रणका लागि कदम चाल्नुपर्नाको कारण हो, पर्सा जिल्ला अदालतमा बिचौलियाको बिगबिगी हुनु । जिल्ला अदालतमा कामका लागि आउने सेवाग्राहीलाई बिचौलियाले दुःख दिएको, मुद्दा जिताइदिन्छु भन्दै पैसा लिने गरेको, मुद्दा हारिसकेपछि मात्रै अदालतमा आएर गुनासो गर्ने गरेको लगायतका विषय आएपछि अदालत आफैँ सक्रिय भएर बिचौलियाको नियन्त्रणका लागि काम सुरु गरेको हो ।

पर्सा जिल्ला अदालतबाट गत पुस १२ गते मात्रै दुई न्यायाधीशको सरुवासमेत भएको थियो । फाँटवाला र कर्मचारीसँग मिलेर आर्थिक अनियमितता गरेको उजुरी परेपछि न्याय परिषद्ले ती दुई न्यायाधीशको सरुवा गरेको थियो भने आर्थिक अपचलन गरेको आरोपमा श्रेष्तेदार र कम्प्युटर अपरेटरलगायतको सरुवा भइसकेको छ ।

न्यायपालिका शुद्धीकरणका लागि भन्दै कारवाहीस्वरुप सरुवा र सर्वोच्च अदालतमा तानिने र दुर्गममा सरुवा गराएर मात्रै समस्या समाधान नहुने देखिएपछि यतिबेला एक नम्बर न्यायाधीश दीपक खनालकै सक्रियतामा बिचौलियाको पहिचान र रोकथामका लागि आवश्यक सुझाव दिन समिति गठन गरिएको हो ।

पर्सामा थरिथरिका बिचौलिया

पर्सा जिल्लाको न्यायिक प्रक्रियामा सहभागी सरोकारवालाका अनुसार पर्सा जिल्लामा बाटो बाटोमा बिचौलियाको बिगबिगी बढेको छ । यहाँ लेखनदासदेखि कानुन व्यवसायी, स्टेशनरी पसले, पत्रकार, जनप्रतिनिधि, पूर्व कर्मचारी र जान्ने सुन्ने व्यक्ति नै बिचौलियाका रूपमा सक्रिय रहेको आरोप छ ।

जनप्रतिनिधि पहिलो बिचौलिया

पर्सा जिल्लामा सक्रिय एक कानुन व्यवसायीका अनुसार पर्सा जिल्ला अदालतमा आइपुग्ने बिचौलियाको पहिलो नम्बरमा आउँछन्, जनप्रतिनिधि । स्थानीय तहमा हुने झैँ झगडा, जग्गा विवाद, कुटपिट, ज्यान मार्ने उद्योगदेखि बलात्कार र जघन्य प्रकृतिका अपराधमा पनि स्थानीय जनप्रतिनिधि बिचौलियाका रूपमा अदालतसम्म आइपुग्ने गरेको पाइएको छ ।

स्थानीय जनप्रतिनिधिले नै ‘मैले अदालतका कर्मचारी र न्यायाधीशलाई चिनेको छु, मुद्दा मिलाइदिन्छु’ भन्दै मुद्दाका सरोकारवालासँग रकम लिने गरेको पाइएको छ । त्यसबाहेक कतिपय फौजदारी प्रकृतिका मुद्दासमेत स्थानीय तहमै मिलाइदिने गरिएको र त्यसमा आर्थिक लेनदेन समेत भएको जानकारी आएको ती कानुन व्यवसायीले बताए । त्यसबाहेक अदालतमै मुद्दा आएपछि पनि जनप्रतिनिधि अदालतसम्म सहयोगीका रूपमा आइपुग्ने गरेको पाइएको छ ।

लेखनदास र स्टेशनरी पसलेसम्म बिचौलिया

पर्सा जिल्ला अदालतमा स्टेशनरी पसले र लेखनदासले बिचौलियाको कामसमेत गरेको पाइएको पर्सा जिल्ला अदालतका एक कर्मचारीले बताए । अधिकांश घटनामा लेखनदासमार्फत सेवाग्राहीसँग आर्थिक लेनदेन भएको पाइएको र कतिपय घटनामा रकम फिर्तासमेत गराइएको ती कर्मचारीले बताए ।

बिचौलियाका रूपमा अदालतसम्म आइपुग्दा लेखनदासले फाँटका कर्मचारी, कम्प्युटर अपरेटर र इजलास अधिकृतसम्म पहुँच राखेको मुद्दामा चलखेल गरेको गुनासो आउने गरेको र कतिपय घटनामा त्यस्तो भेटिएको ती कर्मचारीले बताए । कर्मचारीले मुद्दा मिलाइदिने भन्दै घुस नै लिएको पाइएपछि पर्सा जिल्ला अदालतबाट हालसालै केही कर्मचारीको सरुवासमेत गरिएको छ । मुख्यतः लेखनदासले फाँटका कर्मचारीसँग कुरा गरी इजलास अधिकृत वा फाँटका कर्मचारीमार्फत न्यायाधीशसम्म पहुँच पुराएर केही मुद्दामा लेनदेन भएको भन्नेसम्मको गुनासो आएको ती कर्मचारीले बताए ।

फाँटका कर्मचारी बढी भ्रष्ट

पर्सा जिल्ला अदालतमा हुने अनियमितता र भ्रष्टाचारमा फाँटका कर्मचारीको मिलेमतो बढी हुने पाइएको पर्साका अर्का कानुन व्यवसायीले बताए । बिचौलियाको पहिचान र नियन्त्रण गर्ने समितिमा समेत रहेका ती कानुन व्यवसायीका अनुसार अनियमितता र भ्रष्टाचार हुने फाँटका कर्मचारी मिल्नु अनिवार्य जस्तै भएको ती व्यवसायीले बताए । उनले भने, ‘फाँटका कर्मचारी नमिल्ने हो भने इजलास अधिकृत वा न्यायाधीशसम्म पहुँच नै पुग्दैन । त्यसकारण फाँटका कर्मचारी नै यस मामलामा बढी जिम्मेवार हुन्छन् । पर्साको हकमा पनि अनियमितता वा आर्थिक लेनदेन हुँदा फाँटका कर्मचारीको संलग्नता बढी देखिएको छ ।’

केही कानुन व्यवसायीले सेवाग्राहीसँग मुद्दा जिताइदिने भन्दै रकम लिएको र मुद्दा हारेपछि सेवाग्राहीको गुनासो आएपछि केही रकम फिर्ता गरी केही रकम भने आफैँले समेत राख्ने गरेको पाइएको सरोकारवालाको भनाइ छ ।….

वकिल पनि बिचौलिया

पर्सा जिल्ला अदालतमा भएको वा हुने गरेको अनियमितता र भ्रष्टाचारमा कानुन व्यवसायी पनि सक्रिय रहेको केही न्यायाधीश र कानुन व्यवसायीकै आरोप छ । कानुन व्यवसायीले मेरो चिनजान छ, म मुद्दा जिताइदिन्छु भन्दै रकम लिने गरेको पाइएको उनीहरूको भनाइ छ । केही कानुन व्यवसायीले सेवाग्राहीसँग मुद्दा जिताइदिने भन्दै रकम लिएको र मुद्दा हारेपछि सेवाग्राहीको गुनासो आएपछि केही रकम फिर्ता गरी केही रकम भने आफैँले समेत राख्ने गरेको पाइएको सरोकारवालाको भनाइ छ ।

मुद्दा जिताइदिने भन्दै दुवै पक्षसँग रकम लिइन्छ

पर्सा जिल्ला अदालतमा हुने अनियमितता यतिसम्म छ कि मुद्दाका पक्ष र विपक्ष दुवै पक्षसँग रकम लिएको समेत पाइएको एक न्यायाधीशले बताए । न्यायाधीशको नाममा रकम लिएर दुवै पक्षबाट रकम लिइएको र एक पक्षले मुद्दा हारेपछि मुद्दा हार्ने पक्षको रकम फिर्ता गरिएको पाइएको छ । ती न्यायाधीशले भने, ‘मुद्दाका दुवै पक्षका वकिल मिल्ने र दुवै पक्षबाट रकम लिने, अनि एउटा पक्षले मुद्दा हारेपछि हार्ने पक्षको पैसा फिर्ता गर्ने र जित्ने पक्षको पैसा लिइदिने पनि देखिन्छ, यो समस्या छैन भनेर हामी भन्दैनौँ ।’

पत्रकार पनि बिचौलिया

पर्सा जिल्ला अदालत र पर्साको न्यायिक प्रक्रियामा पत्रकारसमेत बिचौलिया रहेको आरोप छ । बारा, पर्सा र रौतहट क्षेत्रमा चल्तीमा रहेका केही पत्रकारहरू प्रहरीदेखि सरकारी वकिल र अदालतसम्म मिलाउने भन्दै ठेक्का लिने गरेको, कतिपय घटनामा पत्रकारले नै गलत समाचार प्रकाशित गरी कुनै एक पक्षको पक्षपोषण गरेको पाइएको आरोप छ । पत्रकारले प्रहरीदेखि सरकारी वकिल र न्यायाधीशसम्मलाई धम्कीसमेत दिने गरेको र कतिपय फैसलाका सम्बन्धमा न्यायाधीशसँग बार्गेनिङ समेत गर्ने गरेको एक न्यायाधीशले बताए । उनले भने, ‘सत्यतथ्य विषय बाहिर ल्याउनुपर्ने पत्रकार पनि बिचौलिया बनेकोसम्म गुनासो छ, कतिपय घटनाले हो कि भन्ने पनि लाग्छ ।’

हामी प्रत्येक दिन बेचिएका छौँ : न्यायाधीश खनाल

पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश (एक नम्बर न्यायाधीश) दीपक खनाल पर्सा जिल्ला अदालतमा बिचौलियाको बिगबिगी बढेको स्वीकार गर्छन् । बिचौलियाको बिगबिगी बढेका कारण पहिचान र रोकथामका लागि समिति गठन गरेको स्वीकार गर्दै उनले यसमा विभिन्न पक्षको भूमिका हुने बताए ।

न्यायाधीश खनालका अनुसार कतिपय मुद्दामा कानुन व्यवसायीले रकम लिएको पाइएको, फैसला गरेपछि हार्ने पक्षले पैसा दिँदा पनि मुद्दा जितिएन भनेर गुनासो गरेको, फाँटका कर्मचारीलाई रकम दिएको पाइएको कुरा स्वीकार गर्छन् । फाँटका कर्मचारीले बदमासी गरेको अवस्थामा सरुवा समेत गरिएको स्वीकार गर्दै न्यायाधीश खनालले भने, ‘त्यसकारण समिति गठन गरेर रोकथाम गर्न खोजिएको हो, अनियमितता छ भनेर नै यति गरिएको हो ।’

जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनाल

न्यायाधीश खनालले न्यायाधीशका नाममा बाहिर रकम उठिरहेको समेत स्वीकार गरे । न्यायाधीशलाई चिनेको छु, म मुद्दा मिलाइदिन्छु भन्दै कानुन व्यवसायी, लेखनदास वा अन्य व्यक्तिहरूले रकम बुझिरहेको कुरा जानकारीमा आएको भन्दै आफूहरूलाई थाहा नभई आफूहरू प्रत्येक दिन बेचिनुपरेको न्यायाधीश खनालले बताए ।

खनालले लोकपथसँग भने, ‘हो हामी प्रत्येक दिन बेचिएका छौँ । हाम्रो नाममा पैसा उठाइएको छ, उठिरहेको छ भन्ने सुनिन्छ । तर हामीलाई यी सबै कुरा थाहा नै हुँदैन । हामीलाई थाहा नै नभई हामी प्रत्येक दिन ७ ठाउँमा बेचिइरहेका हुन्छौँ, त्यसबाट हामी मर्माहत छौँ ।’

तपाईंहरुको ग्रिन सिग्नल पाएर पो पैसा उठिरहेको हो कि ?’ भन्ने लोकपथको जिज्ञासामा न्यायाधीश खनालले भने, ‘हामी कसैले त्यस्तो ग्रिन सिग्नल दिएका छैनौँ र दिने पनि छैनौँ । कसैले बदमासी गरेमा निर्ममतापूर्वक कारबाही गरे हुन्छ । हामी ढुक्क छौँ कि हामी कुनै पनि न्यायाधीशले अनियमितता गरेका छैनौँ, तर बाहिरबाट हाम्रो नाम बेच्ने र बेचिनेमा हामीले गर्न सक्ने केही छैन ।’

यो पनि…

वडाले सिफारिस दिँदैन, अदालत सिफारिस नभई फिराद दर्ता गर्दैन

बिचौलिया बढेपछि पर्सा जिल्ला अदालतले गठन गर्‍यो ‘बिचौलिया पहिचान समिति’

युवतीलाई दिएको आइफोन र पैसा फिर्ता मागेपछि बलात्कारको मुद्दा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?