सन्दीप लामिछाने क्रिकेट संघको कारबाहीमा

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । क्यानले उनलाई एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधेको छ ।

उनीमाथि क्यानले गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर कारबाही गरेको यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २।७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो,’ छुम्बीले भने । क्यानको यो निर्णयसँगै सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।

यस्तो छ सन्दीपलाई कारबाहीसम्म पुर्‍याउने फेसबुक स्टाटसको नेपाली भावार्थ
मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन् ।

हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन । खेलाडीहरूको विकास र खेलको स्वस्थ प्रवद्र्धनमा अम्पायरिङको स्तरवृत्ति महत्वपूर्ण हुन्छ । आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारहरूका निम्ति काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?