काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।
विकास बैंकले आफ्नो अठारौँ वार्षिक साधारण सभाबाट अग्राधिकार शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी कोष सबलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रूपमा गत आषाढ १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत आषाढ १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको थियो ।
उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजी कोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभासं प्रदान गर्ने अग्राधिकार शेयर लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ ।
अब, नेपाल धितोपत्र वोर्डको स्वीकृति पश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार शेयर बिक्रीको लागि आव्हान हुने र सम्बन्धित नियामकिय निकायको स्वीकृति पश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया