खानेपानी संस्थाहरु करमुक्त गर्न महासंघको माग

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मंगलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।

महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले सिंहदरबारमा मन्त्री र सचिवलाई भेटेर जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो ।

जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि सहरीकरणलगायतका विविध कारणले खानेपानीको स्रोत दिनप्रतिदिन घट्दै गएकाले भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्न बेलैमा वैकल्पिक उपाय अपनाउनुपर्नेमा महासंघले जोड दिएको छ । 

स्थानीय तहबाट देखाइएको उत्साहजनक सहभागिताका कारण आज साना सहरी/सहरी/सहलगानी लगायतका खानेपानी आयोजना दक्षिण एसियाकै नमुना खानेपानी आयोजनामा प्रमाणित भएकाले यी खानेपानी आयोजनाको संरक्षण गर्न महासंघले ध्यानाकर्षण गराएको छ ।

नेपालको संविधानमा भएको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हकलाई सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्न महासंघको माग छ । खानेपानी आयोजनाको प्राविधिक/आर्थिक पक्ष सरकारको र व्यवस्थापकीय क्षेत्र समुदायको अर्थात् उपभोक्ता संस्थाहरुको भएकाले मौलिकहकको प्रत्याभूति हुने गरी खानेपानी आयोजना निर्माण हुनुपर्नेमा जोड दिएको छ ।

लगानी साझेदारीका सञ्चालित आयोजनाका कारण उपभोक्ता संस्थाहरु ऋणको भारमा थिचिएको सो ऋण मिनाहा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी दिन आग्रह गरेको छ । खानेपानी प्रणाली सञ्चालन गर्दा खपत भएको विद्युत् राज्यबाट निःशुल्क व्यवस्था गर्नुपर्ने तथा खानेपानी बिमा बोर्डको अवधारणा ल्याइ प्रिमियम बापतको रकम राज्यको दायित्वमा रहनुपर्नेमा जोड दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?