सुप्रिम सहकारी ठगी : जिल्ला अदालत रुपन्देही हाजिर भए रवि लामिछाने

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार आज बुधबार कार्यालय खुलेलगत्तै उनी हाजिर भएका हुन् । सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।

लामिछाने केही कानुन व्यवसायीको साथमा हिजो मंगलबार साँझ नै भैरहवामा पुगेका थिए ।

सुप्रिम सहकारीको बचत रकम गैरकानुनी तवरबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत बैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त बचतमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको अभियोगपत्रमा उल्लेख छ ।

सुरुवाती मुद्दा दर्ता हुँदा लामिछाने गृहमन्त्री थिए । त्यतिबेला लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थिएन । प्रहरीले पूरक अनुसन्धानपछि विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले लामिछानेसहितका १४ जना र बैशाखमा नयाँ मुद्दा दर्ता भएका ८ जना गरी २२ जनाविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधमा पूरक मुद्दा दर्ता गरेको थियो । उनीहरू सबैलाई ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ ।

लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा गएको २ करोड १५ लाख २८ हजार सामूहिक दायित्व गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको छ । त्यस्तै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

यसअघि मुद्दा दर्ता भएका २८ जनामध्ये सहकारीका संरक्षकसमेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनालाई गत बिहीबार नै सहकारी ठगीसँगै संगठित अपराधमा पनि पूरक मुद्दा दर्ता गरिएको थियो । सहकारी ठगीका मुख्य योजनाकार राईलाई ५१ करोड १ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग गरिएको छ । गुरुङ अदालतको आदेशले यसअघि नै पुर्पक्षको लागि जिल्ला कारागार रुपन्देहीमा छन् ।

सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा दुईपटक गरी ४२ जनाविरुद्ध मुद्दा दर्ता गरी उनीहरूबाट झन्डै डेढ अर्ब बिगो माग गरिएको छ ।

यसअघि २८ जनाविरुद्ध १ अर्ब ३ करोड मात्र बिगो माग गरिएको थियो भने पूरक मुद्दाको समेत गरी ४२ जनाको बिगो झन्डै डेढ अर्ब रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?