उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा

लोकपथ
126
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन् । 

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन् ।

उनले जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिस्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेको भन्दै आपत्ति जनाए । 

उनले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको बताए । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताए । 

सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटेलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाए । सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटेल गइरहनु नपर्ने बताए । होटेलमा बसेर जलश्रोत विधेयक रिराइट गर्ने गरी निर्णय गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?