प्रधानमन्त्री ओलीको घाँटीमा समस्या, आजका पनि सबै कार्यक्रम रद्ध

लोकपथ
1.8k
Shares

काठमाडौं । घाँटीमा समस्या भई बोल्न नसक्ने अवस्थाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारका लागि पूर्वनिर्धारित सबै कार्यक्रम रद्ध गरिएका छन् । उनलाई बुधबार बिहानदेखि नै घाँटीमा समस्या देखिएको थियो ।

बुधबारका लागि पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन नसकेका प्रधानमन्त्री ओली आज बिहीबारका लागि निर्धारित कार्यक्रममा पनि सहभागिता जनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

सशस्त्र प्रहरी बलको वार्षिकोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथी बनाउने प्रचलन नै छ । सशस्त्रको वार्षिकोत्सव हरेक वर्ष बिहान र बेलुकी गरी दुई सिफ्टमा गर्ने चलन भएपनि यो वर्ष प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बिहानको सिफ्टको कार्यक्रम अघिल्लै दिन गरिएको थियो । साँझको कार्यक्रम पनि बिहान ११ बजेका लागि तय गरिएको थियो ।

तर, बिहानको लागि तय गरिएको कार्यक्रममा पनि प्रधानमन्त्री ओली स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेपछि गृहमन्त्री रमेश लेखकलाई प्रमुख अतिथी बनाएर कार्यक्रम समापन गरिएको थियो ।

स्रोतका अनुसार, मंगलबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमै एमाले सचिवालय बैठक राखेका ओली त्यसपछि भने कुनै एक व्यक्तिको जन्मदिनमा सरिक हुन गएका थिए । उनी राति २ बजेसम्म नै ती व्यक्तिको जन्मदिनमा रमाइरहेका थिए । जन्मदिनमा खाएको केक र चिसो मौसम, अनि रात्रि बसाईका कारण हिजो बिहान उठ्दा उनको घाँटीमा समस्या देखिएको थियो । उनी बोल्नै नसक्ने अवस्थामा पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई थप आराम चाहिएकोले आज पनि बाहिरका कसैसँग भेटघाट कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओली शुक्रबार भने बुटवल जाने कार्यक्रम छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले भोलि पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । त्यहाँबाट हेलिकप्टरमार्फत बिहान सवा १२ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले भोलि नै सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन् ।


शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) हुँदै छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण भइरहेको छ ।


पाँच वर्षमा सक्ने गरी २०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले २०७९ साल अन्तिमतिर मात्र निर्माण कार्य सुरु गरेको थियो । निर्माण कम्पनीले झण्डै एकवर्ष ढिलो गरी काम थालेपनि सुरुङ खन्न सुरु गरेको ९/१० महिनामै ब्रेक थ्रु को अवस्थामा पुगेको छ ।


आयोजनाका अनुसार कुल एक हजार १२६ मिटर लामो सुरुङमार्गको खन्नुपर्ने भित्री भाग भने एकहजार ८९ मिटर मात्रै रहने छ। ब्रेक थ्रु का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखेर १०८७.५ मिटर सुरुङ दुईसाता पहिले नै खनेर सकिएको छ । शुक्रवार प्रधानमन्त्री ओलीको उपस्थितिमा बाँकी रहेको साढे १ मिटर भागलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत हेडवक्र्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ ।


निर्माण कम्पनीसँग गरिएको सम्झौता अनुसार निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ ।


प्रधानमन्त्री ओलीले भोलि नै बुटवल गोरुसिंगे सडकको शिलान्यास पनि गर्दै छन् । आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो २ बजे प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।


सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ । पहिलो चरणमा बन्न लागेको बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकको शिलान्यास भोलि हुन लागेको हो ।

कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँको लागतमा निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठिनदी सम्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठिनदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार २०८४ असोजभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?