कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे निर्माण गर्ने काम पूरा भएको हो ।
निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए।
उनका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।
‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,‘ उनले भने, ‘त्यसैले निर्माणको काममा केही ढिलाइ भइरहेको हो ।’
उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी– लिप्ना सडकखण्डको पूर्णता नपाएको हो ।
पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया