काठमाडौं । काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) अवसरमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले गर्न लागेको कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।
चिनियाँ दूतावासले महानगरलाई पत्र लेख्दै आगामी जनवरी २५ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न लागेको थियो ।
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले एक साता अघि नै पत्र लेखेर अनुमति मागेका थिए । साथै काठमाडौं महानगरलाई समेत सह–आयोजक बन्न प्रस्ताव गरिएकोमा मेयर बालेन्द्र शाह (बालेन)ले विभिन्न कारण देखाउँदै अनुमति नदिएका हुन् । साथै नेपाल ओभरसिज चाइनिज एशोसियसनले पनि सो अवधिका लागि रत्नपार्कमा समेत निशुल्क स्थान उपलब्ध गराउन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गर्न भनिएको थियो । तर महानगरले ट्राफिक व्यवस्थापनलाई कारण देखाउँदै दुवै क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिएन । त्यसको साटो कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न जवाफ पठाइएको छ ।
त्यसो त अघिल्ला वर्षहरुमा चिनियाँ दूतावासको आयोजनामा उक्त कार्यक्रमका लागि काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो ।
तर चिनियाँ कम्पनीले चक्रपथ विस्तारको कामको ठेक्का लिएको तर काममा ढिलासुस्ती हुँदा धुलो उड्ने लगायतका समस्याहरु भएको भन्दै विरोध भइरहेको छ । महानगरले चिनियाँ पक्षलाई त्यसबारे अवगत गराउन कलंकीदेखि महाराजगञ्जसम्मको स्थान प्रयोग गर्न भनेको काठमाडौं महानगर स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया